काठमाडौँ । सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गतेपछि थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिएलगत्तै उनीहरूलाई हिरासतमुक्त गर्न अदालतले भनेको हो ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ । अदालतले उनीहरूलाई पक्राउ गरिएको प्रक्रिया र म्याद थपलाई ’कानुन सम्मत’ नै ठहर्याएको छ । त्यसैले बन्दीप्रत्यक्षीकरणको आदेश जारी नभए पनि मानवीय र विशिष्ट परिस्थितिका कारण थुनामै राखेर अनुसन्धान गरिरहनु नपर्ने सर्वोच्चको ठहर छ ।
उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।













