२२ चैत्र २०८२, आइतबार

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा


डोलप्रसाद अर्याल

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

त्यसअघि आजको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । लामिछानेको प्रस्तावमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्सालले समर्थन गर्दै आफ्नो धारणा राखेका थिए । त्यसपछि केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेअनुसार आइतबार प्रतिनिधिसभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

गत फागुन २१ गतेको निर्वाचनमा अर्याल काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए । उनी ०७९ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला उनले पार्टीको नेतृत्व सम्हालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !