काठमाडौं । कलाकार, मोडल तथा हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
परिवार निकट रहेकाले आफूले दाइ मान्दै आएको व्यक्तिबाट आफू बलात्कृत भएको संगम विष्ट नाम गरेकी युवतीको आरोप लगाएकी हुन् । ती युवतीका अनुसार यो घटना अमेरिकामै भएको थियो ।
उनले फेसबुकमा लामो पोस्ट गरेर यो घटना सार्वजनिक गरेकी हुन् । सागरले आफू बस्ने अपार्टमेन्ट हेर्न लैजाऊ भन्ने आग्रह गरेको र पुगेपछि आफू बलात्कृत भएको उनको दाबी छ ।
मानसिक स्वास्थ्यको कारण आफूले बलात्कार हुँदै गर्दा प्रतिकार गर्न नसकेको ती युवतीको भनाइ छ । आफू सानैदेखि मानसिक स्वास्थ्यसँग जुधिरहेकाले यो घटानाले थप जटिल भएको उनको सेयर गरेकी छन् ।













