काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । आज सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । पूर्व प्रधानमन्त्री ओलीको पक्राउविरूद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र लेखकविरूद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो । प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंले आइतबार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।













