काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि सामूहिक बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अध्यक्ष चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिर्वतित ‘भैरहवा-१५’ लाई अध्यक्ष चौधरीसहितले सामूहिक बलात्कार गरेको मुद्दा दर्ता गरेको हो। मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ ।
तर उनले आफू दोषी नरहेकाले कानूनी लडाइँमा जाने बताएका छन्। सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादव बिरुद्ध आइतबार सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ।
मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् । पीडित पक्षका अनुसार २०८१ साल असोज ६ गते ती युवतीले सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
पूरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरेको भन्दै पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले २०८२ जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।













