काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । हिजो शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।
भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरु शनिबार पक्राउ परेका थिए । प्रतिकूल स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका ओलीलाई ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको थियो भने लेखक सुनुवाईका क्रममा आफैं इजलासमै उपस्थित भएका थिए ।













