१५ चैत्र २०८२, आइतबार

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग


ओली र लेखक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला सरकारी वकिल कार्यालयले माग गरेको छ ।

ओली र लेखकलाई म्याद थपको लागि आज आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सरकारी वकिलबाट १० दिन थुनामा राख्न इजलाससमक्ष निवेदन पेस भएको छ ।

तर ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् । भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरू शनिबार पक्राउ परेका थिए ।

दुवैजनालाई १० दिन म्याद थपको मागसहित सरकारी वकिलले जिल्ला न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गरिरहेका छन् । त्यसपछि ओली र लेखकका कानुन व्यवसायीले छोटो बहस गर्ने तयारी छ ।

पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । उनको ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको छ । लेखक भने सुनुवाइका क्रममा इजलासमै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !