१० चैत्र २०८२, मंगलबार

प्रधानमन्त्री कार्कीले छाडिन् सिंहदरबार, बालुवाटारबाट टोखामा सारियो सामान


सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय आउन छाडेकी छन् । प्रधानमन्त्रीको कुर्सी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी हुन् ।

आगामी शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी गरेका छन् । बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय गएकी छैनन् । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदाबारी भएकी हुन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ । प्रधानमन्त्री कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा शाहले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !