काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी सजिलो बनाउने नयाँ प्रविधि एनएमबि सफ्ट पस सञ्चालनमा ल्याएको छ। यस सम्झौतामा तीनै पक्षबीच हस्ताक्षर गरिएको छ ।
एनएमबि सफ्ट पस प्रविधिले व्यवसायीहरूलाई भौतिक मेसिन बिना नै एन्ड्रोइड स्मार्टफोन मार्फत डिजिटल कार्ड भुक्तानी स्वीकार गर्ने सुविधा दिनेछ । पाटा नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूको प्रतिनिधित्व गर्छ। यस साझेदारीको माध्यमबाट एनएमबि बैंकले पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउन लक्ष्य राखेको छ ।
सफ्ट पस प्रविधिको प्रयोगले पाटाका सदस्यहरू आफ्नो भुक्तानी प्रक्रियालाई छिटो, सुरक्षित र सुविधाजनक बनाउन सक्नेछन्। यसले पर्यटक र ग्राहकहरूले सजिलै भुक्तानी गर्न सक्ने वातावरण सिर्जना गर्नेछ। साथै, डिजिटल कारोबारको मात्रा बढाउने र वित्तीय पहुँच विस्तार गर्नेमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
एनएमबि बैंक र पाटा नेपाल च्याप्टरले संयुक्त प्रयासमार्फत नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपान्तरणतर्फ अगाडि बढाउने लक्ष्य राखेका छन् । एनएमबि बैंक हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।












