गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुने सवै ७ जना भारतीय नागरिक भएको खुलेको छ । आज शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेका थिए । आज शनिबार राति करिब ८ बजे माइक्रोबस दुर्घटनामा परेको हो ।
१४ जना भारतीय तीर्थालु यात्रुहरू सवार रहेको बुझिएको माइक्रोबस दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ८ जनाको उद्धार गरिएको छ ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।












