काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। आज बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।
एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका हुन् । ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका हुन् ।
‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित ओलीले भनेका छन् ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका छन् । उनले अहिलेको कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ। अध्यक्ष केपी शर्मा ओली झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए।












