१७ फाल्गुन २०८२, आइतबार

चुनाव प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्न आयोगलाई कांग्रेसको आग्रह


चुनाव प्रचार

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आज आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि आचार संहिता पालना गर्न–गराउन समेत ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता चालिसेले बताए ।

राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको पाइएको उनले बताए ।

त्यस्तै राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको कांग्रेसको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !