काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो ।
मन्त्रालयको एडभाइजरीका ६ बुँदा
१. इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्ने,
२. सकेसम्म घरभित्रै रहने, सतर्कता अपनाउने, सावधानी अपनाउने र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने,
३. इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्ने,
४. काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहने,
५. इजरायल वा इरान भ्रमणको योजना बनाइरहनुभएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न कडा आग्रह गरिन्छ,
६. मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका निकायले सुझाएका सुरक्षा उपाय पालना गर्ने।













