काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान गएर बाहिरिएका छन् । लेखकले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका हुन् ।
आज सोमबार उनले आयोगको कार्यालय सिंहदरबारमा पुगेर करिब ३ घण्टा बयान दिएका हुन् । बयान सकिएलगत्तै लेखकले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।
भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।
सो घटनापछि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनलाई पनि आयोगले अनुसन्धानको दायरामा ल्याएको हो ।












