काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अघि सारेको एकताको प्रस्ताव अस्वीकार गरेको हो ।
आज शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।
रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेकोबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए । जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ ।
उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको जनाएको छ । उक्त पार्टीले आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । यस्तै घिसिङले आजैमात्र काठमाडौं आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका थिए ।
पार्टी बैठकले एकताको संवाद गर्नका लागि पार्टीका अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ । सहअस्तित्वलाई मुख्य आधार बनाउँदै, कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने अडानसहित आवश्यक सहकार्यका लागि सबै वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गर्ने निर्णय पार्टीले सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत वैकल्पिक शक्तिहरू एकजुट हुने विषयले चर्चा पाइरहेका बेला आज दिउँसो मेयर बालेनसँग हुने भनिएको छलफल स्थगित भएको थियो । यसैले कुलमानको पार्टीले आफ्नो हैसियत बिर्सिंएको भनेर सामाजिक संजालमा आलोचना शुरु भएको छ ।












