काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।
छलफलमा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन् । अहिले उनीहरूबीच छलफल जारी रहेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि छलफलमा सहभागी रहेका उनको सचिवालयले जनाएको छ । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरुसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ ।
सोही सन्र्दभमा शुक्रबार नेपाल सरकारका प्रवक्ता तथा मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई उनीहरुको निवासमा पुगेर भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरुले सरकारलाई वर्तमान राजनीतिक निकासका लागि निर्वाचन एक मात्र विकल्प रहकाले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए ।













