काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले बयानमा दिन जाने बताएका हुन् ।
उनले भने, ‘उहाँहरुले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’ पूर्वगृहमन्त्री लेखकले यसअघि आयोगमा बयान दिने कि नदिने भनेर परामर्श गरेका थिए ।
उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेको स्रोतले बताएको छ । आयोगले बयानका लागि उनलाई पत्र पठाएको छ । विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।
भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।
सो घटनापछि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने आयोगले जनाएको छ ।












