१० चैत्र २०८२, मंगलबार

सिंहदरबारमा भोजनलिपि स्वादद्वारा १० परिकारको प्रदर्शन


सिंहदरबारमा भोजनलिपि स्वादद्वारा १० परिकारको प्रदर्शन

काठमाडौँ । नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिए । परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताए। कोदोको महत्त्व आमनागरिकसम्म पुर्याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।

“यहाँ कोदोको परिकालाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पुर्याउन जरुरी छ । यसको उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएका छन् । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्नसक्छ”, ऊर्जामन्त्री खड्काले भने । कोदो परिकारको विषय मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको उनले बताए।

अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो । मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय कोदो दिवसका सन्दर्भमा कोदो विशेष परिकार बनाइएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले स्वास्थ्यवर्द्धक कोदोको उत्पादन वृद्धि गर्दै यसको प्रवर्द्धन र व्यावसायिकीकरण गरी कृषकलाई खेतीतर्फ आकर्षित गर्न जरुरी रहेको उल्लेख गरे । उनले विगतमा कोदोको परिकार हेपिएको खाना भए पनि सहर र आधुनिक जीवनशैलीमा यो स्वास्थ्यका लागि महत्त्वपूर्ण र लोकप्रिय बनिरहेको बताए।

सेफ कँडेलले लोप हुँदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। नेपाली कृषकद्वारा उत्पादित कृषिउपजको उपयोग गर्दै स्वस्थ्य र सचेतना अभिवृद्धिका लागि कार्यक्रम उपयोगी हुने धारणा राखे ।

राष्ट्रिय कोदो दिवसका अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए। सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवद्र्धन गरिएको अभियानले जनाएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा सिंहदरबारको नारायणी चमेना गृहमा कोदोको परिकार प्रदर्शनी गरिएको हो । कोदो प्रवर्द्धन अभियानमा कोदाली भेन्चर्स प्रालि र नवप्रभात डेरीले पनि सहयोगी भूमिका निर्वाह गरेका हुन् ।

कोदाली भेन्चर्सका प्रमुख लक्ष्मी पोखरेलले नेपाली किसानहरूले परम्परागत रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजलगायत अन्नहरूमा आधारित उत्पादनको विकासमा सहकार्य गर्दै आइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !