काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि सिफारिस भएका परियोजनाहरुले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु तोकेको छ । गत बैशाख २६ गते शुक्रबार एक सुचना जारी गर्दै प्रतिष्ठानले ६६१ वटा परियोजनालाई नै बैंकको शाखा तोकेको हो ।
कर्जाका लागि सिफारिसमा परेका परियोजनाहरुले तोकिएको शाखा कार्यालयमा गएर सहुलियत कर्जाका लागि आवश्यक बैकिङ पुर्याएर ऋण लिन सक्ने छन् । प्रतिष्ठानले गत शुक्रबार सुचना निकाल्दै कर्जा सिफारिस गरिएको परियोजनाको सूची सार्वजनिक गरेको थियो ।
प्रतिष्ठानका अनुसार सिफारिसमा परेका परियोजना प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकता, २०८०/०८१ को करचुक्ता, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो, फर्म वा कम्पनीको छाप लिएर तोकिएको बैंक शाखा कार्यालयमा जानुपर्नेछ ।
कर्जा सूचना केन्द्रको प्रतिवेदनमा यसअघि सहुलियत कर्जा लिएको फेला परेमा परियोजना प्रस्ताव र सिफारिस रद्ध हुने प्रतिष्ठानको सूचनामा उल्लेख छ । प्रतिष्ठानले ६६१ परियोजनालाई राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जा दिने भएको हो ।
सिफारिस भएका परियाेजनाहरूले यी शाखाबाट पाउनेछन् स्टार्टअप कर्जा (सूचीसहित)













