१२ चैत्र २०८२, बिहिबार

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


प्रदीप परियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका (कामपा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले काठमाडौँ महानगरमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा आज बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक समेत रहेका महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र आज दायर गरेको हो ।

काठमाडौँको सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ठेक्कामा अनियमितता भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

परियारसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाल रहेका छन् ।

उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । अख्तियारले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !