काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज सोमबार प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रधानमन्त्री ओलीले आयुषलाई उपाधिको जित्नको लागि शुभकामना दिएका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा-१४ का दुलाल विश्वमाझ नेपालमा प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने लागेका हुन् ।
दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए । युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन् ।
आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलालले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । यस प्रतियोगितामा नेपालले अघिल्ला संस्करणमा राम्रो छवि बनाएकोले यस वर्ष पनि उपाधिको धेरै आशा गरिएको छ ।












