१४ चैत्र २०८२, शनिबार

छ महिनापछि घर फर्किए टिंकरवासी


टिंकरवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। मंसिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्।

“६ महिनापछि फर्किँदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ,” जसपाल तिंकरीले भने, “भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन्।” अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ।

टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ। राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो।

सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन। यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका स्थानीय अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको छ। २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए। “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्‍यौँ,” जसमल बुढाथोकी भन्छन्, “तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदै छ। सडक सपना त अझै धेरै टाढाको छ।”

नक्सा जारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो। नागरिकमा एक प्रकारको खुसी छायो। तर बिस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ। उति बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !