१३ चैत्र २०८२, शुक्रबार

नुवाकोटमा चौबीसै घण्टा पानी सुविधा


खानेपानी

८ जेठ, नुवाकोट । खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित यहाँको तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ ।

गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले जानकारी दिनुभयो ।

सरकारबाट रु १९ लाख ६३ हजार तथा जिल्ला खानेपानी कार्यालय रु १५ लाख ७० हजार अनुदानका साथै स्थानीयवासीबाट रु तीन लाख ९२ हजारबराबरको श्रमदान जुटाइएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पाउन उपलब्ध गराइएको छ । “सुख्खाबस्ती तर नजिकै पानीको मुहान नहुँदा कष्ट भोग्दै आएका बासिन्दाले पानी सहज भएपछि सरसफाइ, पशुपालन, करेसाबारीमा तरकारी लगाउन थालेका छन् ।” तामाङले भन्नुभयो, “भूकम्पले क्षति पुगेको आवासको पुनःनिर्माणले पनि गति लिन थालेको छ ।”

उपभोक्ता समितिले पानी प्रयोग गर्ने प्रत्येक उपभोक्ताको धारामा मिटर जडान गरेको छ । न्यूनतम २० युनिटको रु ७५ र त्योभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट रु पाँच शुल्क लाग्ने नियम बनाइएको समितिका कोषाध्यक्ष कान्छाकाले तामाङले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ताबाट उठाइएको शुल्कले खानेपानी वितरण तथा मर्मतसम्भारका लागि चार कर्मचारीको व्यवस्थाका साथै मर्मतका लागि गर्न कोषसमेत खडा गरिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !