८ बैशाख २०८१, शनिबार

मौसमविद् भन्छन्- फेरी अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ


पश्चिमी वायुको प्रभाव

काठमाडौँ । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम हिजो रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

हिजो रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिए । “आइतबारदेखि दुई-तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन: अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उनले भने ।

हिजो राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहयो । तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भयो । आज आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार अस्ति काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहेको थियो ।

हिजो सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !