७ बैशाख २०८१, शुक्रबार

देशभर वायु प्रदूषण यथावत, तत्काल सुधार नहुने देखियो संकेत


काठमाडौँमा वायु प्रदुषण

काठमाण्डौ । देशभरको वायु प्रदूषण यथावत रहेकोले तत्काल सुधार नहुने संकेत देखिएको छ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जानकारी दिएको छ ।

काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाण्डाैको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटी लगायत ठाउँसहित चितवनको भरतपुर, धनगढी लगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ ।

नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू-संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैभन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

यसैबीच, अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !