६ बैशाख २०८१, बिहिबार

बेलायती राजकुमार ह्यारीले रात बिताएको बर्दियाको डल्ला होमस्टे


बेलायती राजकुमार ह्यारीले रात बिताएको डल्ला होमस्टे

पृष्ठभूमि : बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका-१ स्थित डल्ला गाउँ होमस्टे नैपालकै उत्कृष्ट घोषणा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारागाउँ विकास समितिले बर्दियाको जैविक मार्ग डल्ला सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको हो । डल्ला होमस्टे बेलायती राजकुमार ह्यारीले रात बिताएको नेपालको उत्कृष्ट होमस्टे बर्दिया जिल्लामा पर्दछ ।

परिचय

बर्दिया जिल्लाको मधुवन नगरपालिका-१ स्थित डल्ला होमस्टे नैपालकै उत्कृष्ट होमस्टे घोषणा भएको छ । २०६७ सालमा स्थापना भएको जैविक मार्ग अन्तर्गतको डल्ला गाउँमा २२ वटा होमस्टे घर छन् । वर्षेनी करिव १२ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । हाल सञ्चालनमा रहेका होम स्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाहरुको ब्यबस्था गरिएको छ । गाउँ प्रवेश गर्नासाथ सडक र वरिपरि फोहोर देखिँदैन । यहाँ दिनहुँँ सरससफाइ चल्छ । घरबासमा बस्ने पाहुनाका लागि थारु समुदायले हुरदुगुवा नाच, लाठी, पैया नाच, मघौता नाच, बर्कीमारा नाच लगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । माघीमा ठाकुरबाबा मन्दिरको दर्शन गर्न नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु आउने र बास बस्ने गर्छन् ।

सांस्कृतिक महत्व

डल्ला गाउँ होमस्टेमा थारु समुदायको बाहुल्यता भएकाले होमस्टेमा थारु परीकार र थारु संस्कृतिका विभिन्न नाच प्रस्तुत गरिन्छ । डल्ला होमस्टेले अहिले बर्दियाकै चिनारी परिवर्तन गरिदिएको छ । डल्ला होमस्टेमा गाउँले परिबेसमा बास बस्नुका साथै नयाँ परिकारको स्वाद तथा स्थानीय थारु कला, संस्कृतिको अवलोकन गर्न पाइन्छ । जसका कारण नेपाली तथा विदेशी पर्यटक अहिले डल्ला होमस्टेमा रमाउने गरेका छन् । होम स्टेमा बस्ने पाउनाहरुलाई पारिबारिक बाताबरणमा थारु परिकारको खाना तथा मनोरन्जनका लागि झुमरा, सखिया,लठठी लगायत थारु संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम समेत देखाइन्छ ।

प्राकृतिक सौन्दर्य

निकुन्ज र आरक्षहरुमा समेत एकसिंगे गैडा र पाटेबाघ देख्न गाह्रो छ । तर, समुदायले हुर्काएको बर्दियाको सूर्यपटुवास्थित शिब सामुदायिक बन क्षेत्र एकसिंगे गैडा मात्र नभएर पाटे बाघ समेत बासस्थान बन्दै गएको छ । मानव बस्तिबाट मुश्किलले ३ सय मिटर टाढाको सिमसार क्षेत्रमा सजिलैसँग गैडा देख्न सकिन्छ ।

जैविक विविधता

जैविक विविधता र बन्य जन्तुको संरक्षणमा जुटेका स्थानीय बासिन्दाहरुले आफ्नै गाउमा जैबिक मार्ग होमस्टे अर्थात डल्ला होमस्टे स्थापना गरेका हुन् । लोप उन्मुख दुर्लभ बन्य जन्तुको अबलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरुलाई उनीहरुले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्नै होम स्टेमा खानपिन र बसोबाससंगै बिबिध सास्कृतिक कार्यक्रम गरेर भरपुर मनोरन्जन समेत दिन्छन् । डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमै छ जहाँ एकसिँगे गैंडा, पाटे बाघ, हात्ती र डोल्फिन एशियाकै ठूलो गजराज हात्ती (११ फिट ८ एन्ची अग्लो), गोही, जरायो, विश्वको दुर्लभ कृष्णसार, ताराताल र बढैया तालका तीन सय प्रकारका माछा, रातो कमल फुल्ने सत्खलुवा ताल अवलोकन गर्न पाइन्छ ।

पर्यटकीय महत्व

माघीका अवसरमा दैनिक हजारौँ आन्तरिक पर्यटक यहाँ आउँछन् । वनभोज खाने आउनेको भीड पनि त्यत्तिकै छ । वन्यजन्तु, थारुहरुको पहिरन, गरगहना, गीत र नृत्य, थारुको जैविक खाना, घरबेटीको मीठो मुस्कान सहित आतिथ्य र सत्कार यहाँको विशेषता हो । घरबासमा माछा, स्थानीय कुखुरा, घोँगी, गँगटा, सुतही, अनदीको रोटी र रक्सी, बयरको अचार, परेवाको मासु लगायत थरिथरिका खाना पाहुनालाई खुवाइन्छ ।

पर्यटकीय सम्भावना

होमस्टेमा आवासको व्यवस्था, खानपिन, स्थानीय परिकार, स्थानीय कला संस्कृति सरसफाइ, अतिथि सत्कार, होमस्टेमा आगन्तुकको पहुँच लगायतका सुविधाका आधारमा उत्कृष्ट घोषणा गरिएको यो होमस्टेले राम्रो पर्यटकीय सम्भावना बोकेको छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट ठाकुरद्वारा बसमा १४ घण्टा । पूर्व-पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा । ठाकुरद्वारा-डल्ला ५ किमि । नेपालगन्ज-ठाकुरद्वारा ९० किलोमिटर ।

 डल्ला होमस्टे

तस्वीर : डब्लुडब्लुएफ नेपाल र हिमाल खवर पत्रिका

यो पनि पढ्नुहोस्  

चितवनको सुन्दर गन्तव्य पटिहानी पर्यटकीय क्षेत्र

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !