१९ माघ २०७९, बिहिबार

पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल


दाङको जखेरा ताल

भालुवाङ । दाङ जिल्लाको लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।

यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए । यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ ।

जखेरा शिवालय विकासका लागि सङ्घीय सरकारबाट बाटो र उद्यान निर्माणका लागि रु आठ करोड, प्रदेश सरकारबाट रु ९० लाख र स्थानीय सरकारले हालसम्म रु पौने दुई करोड बजेट विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

तालको संरक्षण र सम्वद्र्धन सँगसँगै यस क्षेत्रको व्यापार व्यवसायमा आर्थिक वृद्धि भएको स्थानीय होटल व्यवसायी बालकृष्ण चौधरीले बताउनुभयो । तालमा डुङ्गा सयर, पार्कभित्र वनभोजस्थलको व्यवस्थापन हुँदा व्यवसाय बढेको छ”, उनले भने ।

त्यस्तै गढवा गाउँपालिका–१ मा पर्ने कुलपानी हरित उद्यान पनि पर्यटकीय गन्तव्यको स्थल बन्दै गएको छ । दुईदेखि तीन सयसम्म पर्यटक दिनहुँजसो आउने गरेको गढवा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

कुलपानी हरित उद्यानको विकासका लागि गढवा गाउँपालिकाले यस वर्षमा रु आठ लाख बजेट विनियोजन गरेकोसमेत वडाध्यक्ष अधिकारीले बताए । अन्य सामाजिक सङ्घ संस्थाले पनि बजेट सहयोग गर्दै आएको उनको भनाइ छ ।

त्यसैगरी भारतसँग सिमाना जोडिएको गढवा गाउँपालिका–८ कोइलाबास नाकाले पनि पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । नजिकैको पहाड हेर्न, खोलामा रहेको झोलुङ्गे पुल हेर्न, त्यहाँ रहेको ‘भ्युटावर’ चढ्नका लागि दैनिक भारतीय पर्यटक आउने गरेको वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिए । भारतीय पर्यटक नेपाल आउँदा नेपालको अर्थतन्त्रमा टेवा पुगेको उनको भनाइ छ ।

दाङ सदरमुकाम घोराही बजारदेखि दक्षिणतर्फ नौ किलोमिटर दूरीमा अवस्थित धारापानी मन्दिर परिचित छ । अग्लो त्रिशूल राखिएका कारण यो मन्दिर परिचित भएको हो । घोराही उपमहानगरपालिका–५ मा पर्ने धारापानी मन्दिर विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्दै आएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा वडा नम्बर ५ का वडाध्यक्ष विष्णुराम आचार्यले जानकारी दिए ।

यो धार्मिक वन क्षेत्र भएको कारणले गर्दा मन्दिर वरपर माछा मासु लिन पाइँदैन, होमस्टे, रेष्टुराँ सञ्चालन गर्न नदिएको उहाँले बताउनुभयो । “मन्दिरको बाहिरपट्टि पूजा सामग्री बिक्री गर्ने, सामान्य चिया पसल राख्ने ठाउँ छ र पूजापाठ गर्न आएका श्रद्धालुले चढाएको पूजा भेटी त्यसैबाट आउने रकम नै मन्दिरको आयस्रोत हो ।”, उनले भने ।

समितिले करिब चार बिघा क्षेत्रफलमा ड्याम निर्माण थालेको छ । यसका लागि हालसम्म प्रदेश सरकारले रु तीन करोड बढी बजेट बिनियोजन गरिसकेको व्यवस्थापन समितिले जनाएकोछ । ‘ड्याम’ निर्माण भएपश्चात् माछापालन र डुङ्गा सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त रु २५ लाख बजेटले गुरुकुल निर्माण भइरहेको समितिका सचिव आचार्यले जानकारी दिए । साथै समितिले मन्दिरमा ३१ किलोको घण्टा राख्नका लागि अभियान थालिने जनाएको छ ।

त्यस्तै दाङमा मानव निर्मित पर्यटकीय क्षेत्र निर्माण भइरहेका छन् । बास बस्न र खानका लागि व्यवस्थासहित सुविधा सम्पन्न होटल, रेष्टुराँ र होमस्टे नहुँदा टाढाबाट आउने आगन्तुकलाई समस्या हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !