पर्यटकलाई आकर्षित गर्दै मकवानपुर हर्नामाडीको मूर्ति बगैँचा Nepalpatra पर्यटकलाई आकर्षित गर्दै मकवानपुर हर्नामाडीको मूर्ति बगैँचा
१४ असार २०७९, मंगलबार

पर्यटकलाई आकर्षित गर्दै मकवानपुर हर्नामाडीको मूर्ति बगैँचा


मूर्ति बगैँचा

वाग्मती । मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी राजमार्ग हुँदै करिब १७ किमी पूर्वतर्फ पुगेर एक किमी दक्षिणतर्फको सामान्य उकालो बाटो लागेपछि गुम्बाडाँडा भन्ने सुन्दर पर्यटकीय ठाउँमा पुग्न सकिन्छ ।

आन्तरिक पर्यटकको घुइँचो लाग्ने गुम्बाडाँडामा विशाल आकारका ढुङ्गालाई कुँदेर बनाइएका मूर्तिहरुको सुन्दर ‘बगैँचा’ छ । हरियो घना जङ्गलको बीचमा रहेको भिरालो परेको ठूलो र हरियो चौरमा देश तथा विदेशका सुप्रसिद्ध कलाकारले कुँदेका कलाकृति देख्दा जो कोही कलाप्रेमी मोहित नहुने कुरै छैन ।

झण्डै छ हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चीन, इटाली, भारत, जापान, दक्षिणकोरिया तथा नेपालका सुप्रसिद्ध कलाकारले कुँदेका २३ वटा मूर्तिसँगै २५ फिट अग्लो विशाल आकारको बुद्धको मूर्ति रहेको छ ।

ती मूर्तिमध्ये स्थानीय कलाकार बाबुलाल वाइबाले बनाएको मूर्ति र इटलीका बेटिनो फ्रान्सिनीले बनाएको ‘विश्वकै पहिलो आमा’ नाम दिइएको मूर्ति सबैभन्दा धेरै लोकप्रिय हुँदै गएको छ । त्यस्तै जापानका सुगिमोतो जुनयीचिरोले बनाएको ‘भटमासको कोसा र बिउ’, कोरियाका सिम जुङ सुले बनाएको ‘विश्वको औद्योगीकरण’, चीनका लियु याङले बनाएको ‘आपत्कालीन संरक्षण’सम्बन्धी मूर्ति, तथा कार्यशालामा सहभागी एकमात्र महिला कलाकार फ्रान्सकी लतितिया बाजलियरले बनाएको ‘भूगर्भ ध्वनि प्रवाह’ र नेपालका राजन काफ्लेलगायत १८ जना मूर्तिकारले बनाएको ‘जीवन चक्र’ मूर्ति निकै आकर्षक छ ।

त्यस्तै गङ्गाधर सारु मगरले बनाएको ‘स्वप्न’, लक्ष्मण भुजेलले बनाएको ‘उत्सुकता’, पूर्णकाजी शाक्यले बनाएको ‘शान्ति भूमि नेपाल’, शारदामान श्रेष्ठले बनाएको ‘समुद्र मन्थन’ र ओमभक्त भण्डारीले बनाएको ‘भगवान गणेश एवं कछुवा’ को मूर्ति पनि कम मनमोहक छैन । वैकुण्ठमान श्रेष्ठले बनाएको ‘साँढेको स्वरुप’, गोविन्द चौधरीले बनाएको ‘शान्तिको प्रतीक’, विष्णुप्रसाद श्रेष्ठले बनाएको ‘सूर्यास्त’, ओम खत्रीले बनाएको ‘प्रयोगविहीन शक्ति’, बुद्ध थारुले बनाएको ‘बुद्धको अर्धाकार एवं अष्टमङ्गल’, प्रकाशरत्न शाक्यले बनाएको ‘सिंहासन’, राजु पिठाकोटेले बनाएको ‘सुनौलो भविष्यको आशा’, बाबुलाल वाइबाले बनाएको “हामी सबै मिलेर बसौं” र नरेन्द्रप्रसाद भण्डारीले बनाएको ‘शक्ति क्षयीकरण’ जस्ता मूर्तिले कलाप्रेमी पर्यटकलाई मनोविनोद थपिरहेका छन् ।

“यो ठाउँ साँच्चै सुन्दर रहेछ, मलाई त यो ठाउँमा आउन किन ढिला गरेँछु जस्तो लागिराछ” हर्नामाडी कला प्रतिष्ठान घुम्न आउनुभएकी वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भने । पहिलोपटक यस पार्कमा आइपुगेकी पूर्वमुख्यमन्त्री शाक्यलाई यो ठाउँको कलाकृति र मनोरम वातावरणले निकै नै लोभ्यायो । शाक्यले कैयौँ फोटोहरु र भिडियो आफैँ खिचेर आफन्त तथा साथीभाइलाई पठाउनसमेत भ्याइन् ।

यहाँको कलाकृतिले आफूलाई मोहित बनाएको उनको भनाइ थियो । यहाँ थोरै लगानी गर्ने हो भने देशकै आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ । शाक्यसँगै हर्नामाडी पुगेकी पूर्वमन्त्री जुनेलीमाया श्रेष्ठलाई पनि यो ठाउँ अत्यन्तै मन पर्छ । आफू मकवानपुरकै भएकाले वर्षमा दुई-तीन पटकसम्म घुम्न आउने उनले बताइन् ।

स्थानीय युवा हर्क रम्तेल, देशका चर्चित ललितकलाकर्मी लक्ष्मण भुजेल, डा. तारालाल श्रेष्ठलगायतका समाजसेवीको अग्रसरतामा पर्या-पर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समितिले २०६९ सालमा नेपालमै पहिलोपटक प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न गरेकोे थियो ।

नेपालमै पहिलोपटक आयोजना भएको अन्तर्राष्ट्रियस्तरको कार्यशालाको तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समापन गरेकी थिइन् । कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, समसामयिक मूर्तिकार समूह ‘आरम्भ’ र विभिन्न विदेशी कलाकारको सहभागिता रहेको थियो ।

गुम्बाडाँडा वाग्मती प्रदेशको राजधानी हेटौँडाको पूर्वी क्षेत्रमा हर्नामाडी भन्ने ठाउँमा अवस्थित छ । राजा मुकुन्द सेनले बसालेको मानिने मुकुन्दपुरअर्थात् मकवानपुर फाँटअन्तर्गत पर्ने हर्नामाडी ऐतिहासिक भूमि हो । पूर्वी राज्यहरु विजयी गर्न हिँडेका पाल्पाली राजा मुकुन्द सेनले निकै मन पराएर यस ठाउँलाई बस्तीको रुपमा विकास गर्न लगाएको इतिहासका विभिन्न पुस्तकमा उल्लेख छ ।

समथर भूभाग र निक्कै उब्जाउ हुने खालको तथा घर बनाउन चाहिने इँटा, खपडालगायतका चिजबिज बनाउन उपयुक्त हुने माटो भएको कारण पनि हर्नामाडी सेनकालमा निक्कै महत्वपूर्ण भूभाग रहेको अनुमान लगाउन सकिन्छ । सेनकालमा प्रसिद्ध हर्ना र माडी क्षेत्रको भूभाग समेटेर यो स्थानलाई हर्नामाडी भन्न थालिएको यहाँका अग्रज बताउँछन् ।

इतिहासकारका अनुसार मकवानपुर राज्यको राजधानीको अन्न भण्डार थियो, हर्नामाडी । मकवानपुर गोर्खालीले कब्जामा गरेपछि मकवानपुरेलाई सहायता गर्ने बाहनामा आएको बङ्गाली नवाव मिर कासिमको फौजले पनि सबैभन्दा पहिले हर्नामाडीलाई नै कब्जा गरेर यहाँको अन्न तथा खाद्यभण्डारमा लुटपाट मच्चाएको इतिहासमा उल्लेख छ ।

इतिहासमा प्रसिद्ध रहेर पनि कालान्तरमा निरसजस्तै बनेको हर्नामाडी अहिले हर्नामाडी कला प्रतिष्ठान (गुम्बाडाँडा) का कारण आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो । हेटौँडा उपमहानगरपालिका–१८ को रामधुनी नजिकै रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा अहिले मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

यहाँका मूर्तिहरुले थुप्रै आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्न थालेको हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल बताउनुहुन्छ । यस क्षेत्रमा आकर्षक उद्यान, वनभोजस्थल, मन्दिरजस्ता आकर्षक संरचना बनेका छन् ।

विसं २०४० बाट संरक्षणको सुरुआत भएको यस क्षेत्रको अर्को विशेषता भनेको लोपोन्मुख अवस्थामा पुगेको वनस्पति विजयलालको जङ्गल हो । यहाँ विजयसालको बीउ उत्पादन गर्नुको साथै यसको विशेष संरक्षण गरिएको छ । लोप हुनसक्ने वनस्पतिको सूचीमा रहेको विजयसाललाई सरकारले कुनै पनि प्रकारले कटानी, पैठारी तथा निकासी गर्न रोक लगाएको छ । अङ्कुरण क्षमता कमजोर हुने भएकाले खुला वन क्षेत्रबाट लोप हुँदै गएको विजयसाल औषधीय गुणले भरिपूर्ण मानिन्छ ।

विजयसालबाट बनेका भाडामा राखेको खानेकुरा वा पानी स्वस्थकर मानिने र यसको ठेकीमा जमाएको दही, राखेको मोही स्वास्थ्यको लागि उपयोगी हुने बताइन्छ । यसको भाँडो वा ठेकीमा बेलुका राखेको पानी भोलिपल्ट नीलो हुने र त्यो पानी पिउँदा पेटका रोगहरु निको हुने भएकाले आयुर्वेदिक हिसाबमा अत्यन्तै महत्वपूर्ण मानिने त्रिवि वन विज्ञान अध्ययन संस्थान हेटौँडाका पूर्व क्याम्पस प्रमुख प्रा कृष्णप्रसाद दाहाल बताए ।

वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ रहेको विजयसालको भाडामा राखेको पानी नियमित पिउने गरे पेट र मुटुसम्बन्धी रोग निको हुने तथा मधुमेह, कुष्ठरोगलगायत छालासम्बन्धी सबै प्रकारका रोगको उपचारमा तथा विभिन्न रोगमा यसको प्रयोग हुने गरेको इतिहास रहेको उनले बताए । आज पनि आयुर्वेदिक र एलोपेथिक दुवै प्रकारका औषधि निर्माणमा विजयसालको प्रयोग हुने प्रा दाहालले बताउनुभयो । गुम्बाडाँडामा विजयसालका ५०० भन्दा बढी रुख हुर्किएका छन् ।

प्रतिष्ठानका अध्यक्ष रम्तेलका अनुसार २०२७/२८ सालतिर यहाँ मानव बस्ती थियो । अतिसुक्खा क्षेत्र भएको कारण २०३४ सालतिर यहाँको मनव बस्तीलाई पूर्णरुपमा विस्थापित गरेर चितवन सारेर वृक्षरोपण गरियो । त्यस्तै विसं २०५२ मा रिह्रो गुम्बाको स्थापना र २०६३ सालमा सल्लाघारी–पर्या पर्यटकीय पार्क स्थापना भयो । त्यसपछि हर्नामाडी कला प्रतिष्ठानमार्फत यसको व्यवस्थापन र प्रवद्र्धन हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !