१३ बैशाख २०८१, बिहिबार

अन्नपूर्ण पदमार्गमा दैनिक विदेशी पर्यटकको आगमनमा वृद्धि


विदेशी पर्यटक

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ ।

अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । कोरोना भाइरस, बाढीपहिरो र हिमपातका कारण पर्यटन क्षेत्रमा ह्रास आइरहेको बेला अहिले पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

दुई वर्षसम्म कोरोना भाइरसका कारण थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र अहिले विस्तारै तङ्गिँ्रदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ ।

मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । गएको फागुन महिनामा ४९४ जना र चैत १ देखि ७ गतेसम्म २९२ गरी ७८६ विदेशी पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र गत असोज महिनादेखि राम्रो हुन थालेको प्रमुख गौतमको भनाइ छ । मङ्सिर र पुस महिनामा हिमपातका कारण अलि सुस्ताएको भए पनि अहिले फेरि पर्यटकको चहलपहल बढ्न थालेको उनले बताए । जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग पुनः सञ्चालन भएको र सुरक्षित रहेको जनाएको छ ।

वर्षाले बिगारेको बाटो मान्छे हिँड्न र मोटरसाइकल पास हुने बनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटक तिलिचो तालको अवलोकन गर्दै थोराङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ पनि पुगिरहेका हुँदा अन्नपूर्ण पदमार्ग सुरक्षित र सहज रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !