म्याग्दी ऐतिहासिकस्थल ताकमकोतमा भक्तजन र पर्यटक बढे Nepalpatra म्याग्दी ऐतिहासिकस्थल ताकमकोतमा भक्तजन र पर्यटक बढे
१८ मंसिर २०७८, शनिबार

म्याग्दी ऐतिहासिकस्थल ताकमकोतमा भक्तजन र पर्यटक बढे


ताकमकोत

म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । पूजाआजा र अवलोकनका लागि आउने भक्तजन बढेका ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए ।

“दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो”, उनले भने, “अहिले दैनिकजसो भक्तजन आउँछन् ।” नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेका उनले बताए ।

गत हप्ता नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल हेलिकोप्टर चढेर पूजाआजाका लागि परिवारसहित ताकमकोत पुगेका थिए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

पछिल्लो समय पूजाआजा नभएको र मेला नलागेको समयमा पनि दैनिकजसो भक्तजन आइरहेका पुजारी पौडेलले बताउनुभयो । ताकम र देवीस्थान हँुदै कोत परिसरमा पुग्ने दुई सडक निर्माण भएका छन् ।

सडकबाट कोतसम्म पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोतघरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर करिब रु ८० लाखमा दुई वर्षअघि ताकमकोतको कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सोह्रौँ शताब्दीमा निर्माण गएिको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।

ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनानुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको पुनःनिमाण समितिका अध्यक्ष तेजिन्द्र थापाले बताए ।

“रु दुई करोड ५० लाख लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी खर्च भएको छ”, उनले भने, “धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि लगानी गरेका छन् ।”

पुरातत्व विभागले गत वर्ष विनियोजन गरेको रु ५० लाखबाट ठेक्कामार्फत सुरु गरेको अर्को मन्दिर निर्माण भने अलपत्र परेको छ । तामाले छाउने डिजाइन भएको मन्दिरमा जस्तापाता राखेकाले स्थानीयवासीले विरोध गरेपछि काम छाडेका निर्माण व्यवसायी अधकल्चो मन्दिर छाडेर सम्पर्कविहीन बनेका वडासदस्य देवेन्द्र थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !