लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व Nepalpatra लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व
९ श्रावण २०७८, शनिबार

लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व


लक्ष्मी हयग्रीव नारायण मन्दिर

काठमाडौँ । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई हयग्रीव भनिन्छ । हयग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । हयग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।

ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले हयग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । हयग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ ।

महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी हयग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीशले राससलाई जानकारी दिनुभयो । भगवान् विष्णुले हयग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ ।

हयग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकुन् भनी वर मागेकाले भगवान् विष्णुले हयग्रीव रूप धारण गर्नुभएको हो । भगवान् हयग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले हयग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताए ।

स्कन्द पुराण अन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उनले भने ।

कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश बताए । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।

यहाँ ब्रह्माले वामनरूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रुरूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२ औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो ।

नेपाल माहात्म्यको ३२ औँ अध्यायको २८, २९ र ३० औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् हयग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी हयग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्य युगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !