८ बैशाख २०८१, शनिबार

दाङको सुन्दर पर्यटकीय क्षेत्र जखेरा तालमा चहलपहल बढ्दै


जखेरा ताल

देउखुरी, १५ कात्तिक । लामो समयदेखि सुनसान लमही नगरपालिका-३ स्थित पर्यटकीय क्षेत्र जखेरातालमा चहलपहल बढेको छ । बन्दाबन्दी र निषेधाज्ञापछि बडादशैंँमा घरमा आएका आन्तरिक पर्यटक बढेका छन् ।

सो ताल दाङ, लमही बजारबाट ६ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करीब दुई किलोमिटर पर पर्छ । पूर्वपश्चिम राजमार्गबाट नजीकै रहेको तालको अवलोकन र घुमघाम गर्नेको संख्या अहिले बढेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ॐभगत चौधरीले जानकारी दिनुभयो ।

“प्रायःवर्षैभरि चहलपहल रहने यो ठाउँ कोभिड –१९ सङ्क्रमणको जोखिमका कारण सुनसान थियो, अब विस्तारै चहलपहल हुँदै छ, वनभोजको कार्यक्रम त भएको छैन, घुम्न र डुङ्गा चढ्न आउनेहरुलाई सेवा दिएका छौँ ”, चौधरीले भन्नुभयो । एक पर्यटकले पूरै तालमा डुङ्गामा जलविहार गरेको रु ५० तथा मन्दिर दर्शनको रु २० शुल्क निर्धारण गरिएको छ ।

पद्मोदय मावि भरतपुर, दाङका कक्षा १२ का विद्यार्थी प्रमिला सुवेदीले पहिलो पटक जखेरा घुम्न आएको र यति ठूलो ताल होला भनेर नसोचेको बताउनुभयो । “डुङ्गामा चढेर जलविहार गर्दा झनै मज्जा आयो । साथीहरुले कुरा गरेको सुनेको थिएँ, तर सोचेभन्दा राम्रो लाग्यो”, सुवेदीले भन्नुभयो ।

समितिका उपाध्यक्ष रामसिंह केसीले तालभित्र रहेको शिव मन्दिर परिसरमा कालोपत्रे तथा डुङ्गा चढ्ने ठाउँमा पक्की सिँढी र रेलिङ लगाउने काम सकिएको जानकारी दिनुभयो । आव २०७५ । ०७६ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले रु १५ लाख र डिभिजन वन कार्यालय लमहीले रु नौ लाख उपलब्ध गराएको बताइएको छ । त्यस्तै यस वर्ष लुम्बिनी प्रदेश सरकारले ताल मर्मतसम्भार गर्न रु २५ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । सात महिना बन्द रहेको तालमा विस्तारै आन्तरिक पर्यटकको आगमनले चहलपहल बढेको छ ।

साढे सात बिघा क्षेत्रफलमा फैलिएको सो ताल स्थानीयवासीले समिति बनाएर संरक्षण गर्न थालेपछि रमाइलोका लागि सबैको रोजाइको क्षेत्र बनेको छ । छ फिट गहिरो तालका वरपर हरियो वनजङ्गल छ । तालको उत्तरतर्फ गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छन् । तालको मुख्य आकर्षण वनभोज, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन हो । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिरको दर्शन गर्न जान्छन् ।

लमही–३ का वडाध्यक्ष बाबुराम चौधरीले ताल र ताल क्षेत्रको विकासका लागि वडा कार्यालयले गुरुयोजना तयार गरिसकेको जानकारी दिँदै सोका लागि रु ४० लाख बजेट छुट्याइसकेको बताउनुभयो । उहाँका अनुसार पानी निकासका लागि छिट्टै पक्की नाला बनाइने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !