८ बैशाख २०८१, शनिबार

म्याग्दीको झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित


Jhakripani Myagdi

म्याग्दी, ११ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका-३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।

पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताउनुभयो । होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।

पर्यटकका लागि झाँक्रीपानीमा दृष्यावलोकनस्थल (भ्यु टावर) निर्माण भएको छ । गाउँपालिकाको रु. २५ लाख अनुदान र रु. ७ लाख बराबरको श्रमदानमा टावर बनाइएको हो । तीनतले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताउनुभयो । टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले एक रोपनी नौ आना जग्गा उपलब्ध गराउनुभएको थियो ।

गाउँपालिकाले रु. २८ लाख खर्च गरिसकेको सामुदायिक भवनलाई रङ्गरोगन र फर्निचर व्यवस्थापनका लागि चालू आवमा थप रु. तीन लाख पचास हजार विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।

पालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक–नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको बताउनुभयो । स्थानीयवासी सोम छन्त्यालले सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुविधासँगै झाँक्रीपानीमा पर्यटक यहाँ आकर्षित भएको बताउनुभयो ।

समुद्री सतहदेखि दुईहजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीयबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े रेञ्जका १६ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

सूर्याेदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जिसीले बताउनुभयो ।

बेनी नगरपालिका–४ राक्सेकी हीरा शर्माले झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । बेनीदेखि गाडीमा एक घण्टा ३० मिनेट, तातोपानी र बाबियाचौरदेखि तीन घण्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।

परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीयवासी दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीमा २०६७ मा महोत्सव आयोजना गरेका बरंजाबासीले म्युजिक भिडियो समेत तयार पारेका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले झाँक्रीपानीमा बाह्यपर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार रत्नेचौर–भकुण्डे–बेलढुङ्गा–गम्फाको धुरी–झाँक्रीपानी–निस्कोट बराह–दुर लेक–सोलेडाडा–देवीस्थान हुदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पनासमेत गरिएको छ ।

कालाबाङ्गमा केन्द्रीय लाइनको विद्युत विस्तार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

दशैँकै बीचमा पाँचबस्तीका ५० घरमा विद्यत विस्तारपछिस्थानीयवासीमा खुसीयाली छाएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीमा विद्युतीकरण गरेको स्थानीयवासी भेषकुमार शेरपुञ्जालीले जानकारी दिनुभयो । यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए ।

केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने शेरपुञ्जालीले बताउनुभयो ।

सो गाउँपालिकाले ६ को भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रायखोर, मुलपानी र उल्लेरीमा विद्युतीकरणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

कूल ७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !