, वनका फलफूलले भुलायो बन्दाबन्दीमा गाउँ फर्किएकालाई

वनका फलफूलले भुलायो बन्दाबन्दीमा गाउँ फर्किएकालाई

म्याग्दी, २० जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् ।

विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताउनुभयो । “कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्”, उहाँले भन्नुभयो, “काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।”

पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् । वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन । कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ । “जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ”, उहाँले भन्नुभयो, “साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।”

वर्षौंदेखि शहरमा अर्काको खटनपटन, प्रदूषण र कोलाहलमा व्यस्त दैनिकी गुजारेकाहरु आमाको प्रेमिल काखमा रमाउन पाएझैँ खुशी लागेको उहाँले बताउनुभयो । वसन्त ऋतु प्राकृतिक हिसाबले रमाइलो र सुन्दर मानिन्छ । यही याममा जङ्गलमा धेरै प्रकृतिका फलफूल पाक्छन् । शहर बजारमा जङ्गली फलफूल चाख्न महँगो मूल्य तिर्नुपर्छ । गाउँमा फर्किएकाहरु रुखमै चढेर आफैँ टिपेर ताजा फलफूल खान पाएका छन् । किशोरदेखि युवा र पाका उमेरका मानिस घरायसी, खेतबारी र दाउरा घाँस काट्नुका साथै जङ्गली फलफूल खाएर लकडाउनको समय कटाइरहेका ताकमका सुमन केसीले बताउनुभयो ।

बेनीमा अध्ययन गर्ने घर्ती र केसी लकडाउन भएयता गाउँमै छन् । विगतका वर्षमा गाउँघरमा दशैँ तिहारको समयमा मात्र चहलपहल हुन्थ्यो । भूकम्प र नाकाबन्दीको समयमा पनि गाउँमा धेरै मानिस पुगेका थिए । “ अहिले ऐसेलु र काफल उपभोग हुन नसकेर भुइँमा झरेर कुहिनुपर्ने अवस्था छैन”, ताकमकी आरती आचार्यले भन्नुभयो, “दुःखमा सम्झिने गाउँ नै रहेछ ।”