, पर्यटकीय संरचना निर्माणमा वर्षौँदेखि भारतीय अवरोध

पर्यटकीय संरचना निर्माणमा वर्षौँदेखि भारतीय अवरोध

फिदिम, २ जेठ । भारतले पूर्वी पहाडको सीमावर्ती क्षेत्रमा पर्यटकीय संरचना निर्माण गर्न वर्षौँदेखि अवरोध गर्दै आएको छ । शृङ्हलीला पर्वतीय शृङ्खलामा अवस्थित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा पर्ने सीमावर्ती पर्यटकीय क्षेत्रमा भारतले विगत तीन वर्षदेखि कुनै पनि संरचना बनाउन दिएको छैन । नेपालका अधिकांश पदमार्ग पश्चिम नेपाल केन्द्रित रहेको र पूर्वमा पर्यटकको उपस्थिति कमजोर रहेको निष्कर्षपछि नेपाल पर्यटन बोर्डले यहाँ नयाँ पदमार्ग (ट्रेकिङ रुट) निर्माण थालेको थियो । तर भारतीय अवरोधले उक्त पदमार्ग निर्माणको भविष्य नै अन्योलमा परेको छ । इलामको सन्दकपुर तथा पाँचथरको फालोट क्षेत्रमा समेत पर्यटकीय पूर्वाधार निर्माणमा भारतीय पक्ष बाधक बन्दै आएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले दुई वर्षअघि सीमावर्ती क्षेत्रबाट पशुपतिनगर–कञ्चनजङ्घा पदमार्ग निर्माण थालेको थियो । इलामको पशुपतिनगरदेखि ताप्लेजुङको कञ्चनजङ्घा हिमालको दक्षिण बेसक्याम्पसम्म पुग्ने यो नयाँ पदमार्ग पर्यटकका लागि नयाँ गन्तव्य हुने समितिको निष्कर्ष थियो । तर भारतीय सीमा सुरक्षा बलले निरन्तर अवरोध गरेपछि पदमार्ग निर्माणकार्यले गति लिनसकेको छैन । दशगजा क्षेत्रभन्दा वरबाटै पदमार्ग निर्माण गर्न थालिए पनि भारतीय पक्षले अवरोध सिर्जना गर्दै आएको छ । पदमार्ग निर्माणमा गत वर्ष रु ६५ लाख बजेट विनियोजन थियो । गत वर्ष सहजरूपमा बजेट खर्च नभएपछि यस वर्ष बजेट नै नछुट्टिएको हो ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका सूचना अधिकारी सञ्जीव पौडेलका अनुसार यो पदमार्ग निर्माणमा भारतीय सीमा सुरक्षा बलले विभिन्न स्थानमा अवरोध सिर्जना गर्ने गरेको छ । “गत वर्ष इलामको गौरीवास–कालपोखरी खण्डमा भारतीय पक्षले उपभोक्तालाई निरन्तर रोक्ने प्रयास गरे । निकै दुःख गरेर नयाँ रुट क्लियर गरियो”, पौडेलले भन्नुभयो । भारतीय पक्षले केन्द्र सरकारको निर्देशन पालना गरेको बताउने गरेको छ । “कामअघि बढाउने आवश्यकता भए दुई देशबीच उच्च तहमा संवाद भई सोहीअनुसारको निर्देशन आउनुपर्ने सीमा सुरक्षा बलको तर्क हुने गर्दछ”, पौडेलले भन्नुभयो । यता पूर्वी पहाडका स्थानीय प्रशासनले भारतीय पक्षसँग प्रशस्त संवाद गरेका छैनन् ।

यही पदमार्गअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा गत वर्ष विश्रामस्थल बनाइएको छ । विश्रामस्थल नबनाउन त्यतिबेला पनि भारतीय पक्षले दबाब दिएको पौडेलले बताउनुभयो । उक्त विश्रामस्थल आसपासमै यस वर्ष सङ्ग्रहालय बनाउने तयारी थियो । डिभिजन वन कार्यालय पाँचथरको बजेटमा सङ्ग्रहालय बन्ने चर्चापछि भारतीय पक्षले उक्त भूभाग नै भारतमा पर्ने दाबीसहित काम अघि नबढाउन दबाब दिन थालेको छ । यस्तै फालेलुङ गाउँपालिका–४ चाररातेमा भ्यूटावर निर्माण गर्ने योजनामा समेत भारतीय पक्षको अवरोध छ । “नेपालतर्फ पदमार्ग र अन्य पूर्वाधार निर्माण भए यसको सोझो असर भारतको पश्चिमबङ्गालको पर्यटनमा पर्ने हुनाले निरन्तर अवरोध हुँदै आएको छ”, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाका उपाध्यक्ष शील्प राईले भन्नुभयो, “यसैले भारतले अवरोध गर्दै आएको छ ।”

यस्तै इलाम र भारतको पश्चिमबङ्गालको सीमामा पर्ने सन्दकपुरमा समेत भारतले नेपालतर्फ संरचना निर्माणमा अवरोध गरिरहेको छ । सन्दकपुर गाउँपालिकाले यहाँ सडक, प्रवेशद्वार र भ्यू–प्वाइन्ट बनाउन लागेको थियो । निर्माणको काम अगाडि बढाएपछि भारतीय पक्षले दशगजाको आसपासमा दुवैतर्फ कुनै पनि संरचना हुन नहुने भन्दै अवरोध गरेको हो । यद्यपि भारततर्फ भने प्रशस्तै संरचनाहरु छन् । भारततर्फ सडकसमेत निर्माण गरिएको छ । सन्दकपुर पशुपतिनगर–कञ्चनजङ्घा बेसक्याम्प मार्गको सबैभन्दा आकर्षक स्थान हो । यही स्थानमा भारतले संरचना र पूर्वाधार निर्माणमा अवरोध गरेको छ ।

निर्वाध नेपाली भूमिको प्रयोग
नेपालमा संरचना निर्माणमा अवरोध गरेको भारतले आफ्ना पर्यटन व्यवसायी तथा तेस्रो मुलुकका पर्यटकलाई भने नेपाली भूमि प्रयोग गर्न मद्दत गरेको छ । “भारतीयले हाम्रो भूमि र स्रोत साधनको प्रयोग गर्छन् । तेस्रो मुलुकका पर्यटकहरु हाम्रै बाटो हिँड्छन् । फाइदा भने भारत सरकार र भारतका पर्यटन व्यवसायीले उठाउँछन्”, राईले भन्नुभयो । दृश्यावलोकन, जैविक विविधता र धार्मिक हिसाबले अब्बल सन्दकपुरबाट भारतले मात्रै फाइदा उठाइरहेको छ ।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका सूचना अधिकारी पौडल सामान्य पूर्वाधार मात्रै निर्माण गर्न सके पनि सीमालाई बलियो बनाउन मद्दत मिल्ने बताउनुहुन्छ । “राज्यले रणनीतिक योजना बनाइ उपस्थिति जनाउनु, पूर्वाधार विकास गर्नु र स्थानीयवासीको आयआर्जन वृद्धि गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । यी क्षेत्रको पर्यटकीय विकासमा तीनवटै जिल्लाका स्थानीय तहहरुबीच समन्वय गरी प्रदेश र सङ्घीय सरकारसँग सहकार्य स्थानीय तहहरुले थालेको पहल भारतीय अवरोधकै कारण अघि बढ्न नसकेको पाँचथरको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । यस्तै रातो हाब्रे पाइने सीमा क्षेत्रमा समेत भारतले विभिन्न संरचना निर्माण गर्नुका साथै विद्युत विस्तार गरेको छ । यसले रातो हाब्रेको बासस्थानमा नकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ ।

नेपालमा पर्यटक रोक्ने भारतीय रणनीति
नेपालमा पर्यटक आउनबाट रोक्ने रणनीतिसहित भारतीय पक्षले सीमामा विवाद सिर्जना गरिरहेको सरोकारवालाको बुझाइ छ । “पर्यटकलाई भारतमै होल्ड गराएर राख्ने योजनाअनुसार उनीहरुको रणनीति बनेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “भारततर्फ सीमित संरचना र नेपालको तुलनामा कम आकर्षक पर्यटकीय स्थान छन् । हामीले प्रशस्तै संरचना बनाए त सबै नेपाल आइहाल्छन् । यसैले उनीहरुले सीमामा विवाद झिकेका हुन् ।” समितिले निर्माण गर्न लागेको उक्त पदमार्ग १९ दिनको बन्नेछ ।

पूर्वी पहाडमा भारतको सीमा पानीढलोका आधारमा बनेको हो । जसअनुसार अधिकांश क्षेत्रमा नेपालीको सीमा अग्ला डाँडासम्म फैलिएको छ । भारतमुनि परेको छ । नेपालतर्फ पदमार्ग निर्माण गरी होटल तथा घरवास सञ्चालनमा ल्याउन सके दार्जिलिङ तथा भारतको शृङ्हलीला राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु नेपालतर्फ आकर्षित हुन्छन् । “मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले निर्माण गर्न लागेको रुटको मुख्य रणनीति भनेको दार्जिलिङ क्षेत्रमा आउने तेस्रो देशका पर्यटकलाई नेपाल भित्र्याउने हो”, समितिका सूचना अधिकारी पौडेलले भन्नुभयो, “यसैले भारतले नेपालतर्फ कुनै संरचना बन्न नदिएको हुनसक्छ ।”