८ बैशाख २०८१, शनिबार

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि ‘कैलाश मानसरोवर’ निर्माण शुरू


बाँके

बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य शुरु भएको छ । हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेको बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया शुरु गरेको हो ।

सोमबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वनस्पति उद्यानसहितको कैलाश मानसरोवरको प्रतीकात्मकस्थलको शिलान्यास गरेपछि यस क्षेत्रका पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् । एक वर्षअघिदेखि नै निर्माणको प्रक्रिया चले पनि मुख्यमन्त्रीद्वारा शिलान्यास भएपछि मानसरोवर प्रतीकात्मकस्थल बन्नेमा आफू आशावादी भएको होटल व्यवसायी महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार नेपालको बाटो हुँदै बर्सेनि हजारौँ पर्यटक तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमणमा जाने गर्दछन् तर धेरैले चाहना राख्दाराख्दै पनि जान सक्ने अवस्था छैन । बाँकेमै कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माण हुन सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटक प्रवद्र्धन गर्न सकिने अध्यक्ष काफ्लेले बताउनुभयो ।

प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ । राज निर्माण सेवा नेपालगञ्जसँग रु एक करोड छ लाख आठ हजार २९१ मा २०७६ पुस २४ गते सम्झौता भई २०७७ असार २५ गतेसम्म निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।

भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश मानसरोवर पुग्न नसक्ने पर्यटकलाई लक्षित गरेर करिब पाँच हेक्टर क्षेत्रफलमा यस्तो प्रतिमूर्तिसहित उद्यान निर्माण प्रक्रिया थालिएको उहाँको भनाइ छ । हिन्दू धर्मअनुसार भगवान् शिव र पार्वतीको बासस्थान क्षेत्र भएकाले हिन्दूहरुले यो स्थानलाई पवित्र तीर्थस्थलका रूपमा लिएको पाइन्छ । विभिन्न हिन्दू धर्मग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

मानसरोवर र कैलाश पर्वतको प्रतीकात्मकस्थल निर्माणले बाँकेको आन्तरिक तथा बाह्य पर्यटनमा ठूलो सहयोग पुग्ने गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । यसको निर्माणसँगै बाँकेका होटल र घरवासमा पनि पर्यटन प्रवद्र्धन हुने उहाँको अनुमान छ । बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यान बनाउन बैजनाथलाई छनोट गरेकामा आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !