१३ बैशाख २०८१, बिहिबार

पर्यटन प्रवद्र्धनमा नयाँ पुस्ता


भ्रमण वर्ष

काशीराम शर्मा, बाँके, २७ पुस । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुसार देशभर पर्यटक लक्षित कार्यक्रम भइरहेका छन् । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्ष लागिपरेका छन् । भ्रमण वर्ष सफल बनाउने तयारीमा नियमित खटिने तीन जना युवामा पर्नुहुन्छ केशव न्यौपाने, कृष्ण चौधरी र डा ओमप्रकाश मिश्र । उहाँहरुलाई भ्रमण वर्षले छपक्कै छोपेको छ ।

नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सहभागी हुनुपर्छ भन्ने सोचका साथ तीनै जना बाँके जिल्लाकै पर्यटन रणनीति बनाउन निरन्तर खटिनुभएको छ । यी तीन युवालाई भ्रमण वर्ष र त्यसका लागि बाँकेमा धेरैभन्दा धेरै पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने चिन्ता छ ।

न्यौपाने देशकै प्रतिष्ठित हस्पिटालिटी समूह सिद्धार्थ विजेनश रूपका क्षेत्रीय प्रबन्धक हुनुहुन्छ भने मिश्र नेपालगञ्जस्थित कर्णाली विकास बैंकका सञ्चालक सदस्य र नेपालगञ्ज एक्वा फनपार्कका प्रबन्धक हुनुहुन्छ । चिकित्सकसमेत रहनुभएका मिश्र भारतीयलाईसमेत आर्कषित गरेर ठूलो लगानीमा फनपार्क खोल्नुपर्छ भन्ने सोच राख्नुहुन्छ ।

त्यस्तै पत्रकारिता हुँदै बाँकेमै पहिलो होमस्ट(घरवास पर्यटन) सञ्चालन गरेर पर्यटन क्षेत्रमा हात हाल्नुभएका पर्यटन व्यवसायी कृष्णलाल चौधरी पर्यटन प्रवद्र्धनमा निरन्तर खटिने युवा हुनुहुन्छ । होमस्टेमार्फत पर्यटन क्षेत्रमा उदय हुनुभएका चौधरी होमस्टे एशोसिएशन नेपालको केन्द्रीय सचिव र प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको सदस्यसमेत रहनुभएको छ ।

चौधरीले नै बैजनाथ गाउँपालिकाको गाभर क्षेत्रलाई होमस्टेका रूपमा चिनाउन भूमिका खेल्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “नयाँ पुस्ता पर्यटन उद्योगमा अग्रसर छन् । उनीहरुलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।” अहिले तीनैजना पर्यटनसम्बन्धी काममा जुटिरहनुभएको छ ।

त्यति मात्र होइन, यहाँका तारे होटलले भ्रमण वर्षमा भारतीय पर्यटकलाई लक्षित गरेर छुटको व्यवस्थासमेत गरेका छन् । तारे होटलले गरेको यस्तो निर्णय प्रक्रियामा न्यौपाने निरन्तर सक्रिय हुनुभएको छ । नेपालगन्ज–पोखरा हवाई उडान गर्न निरन्तर प्रयासरत रहनुभएका न्यौपानेले त्यसका लागि सरोकारवाला निकायलाई झक्झक्याइरहेको बताउनुभयो ।

उहाँहरु भन्नुहुन्छ,“कुन व्यक्तिले के गर्यो भन्ने कुरा महत्वपूर्ण होइन । यो सबैको साझा मुद्दा हो ।” अगाडि जोसुके व्यक्ति देखिए पनि आतिथ्यता क्षेत्रका सबै अगुवा आ–आफ्नो ठाउँबाट पर्यटन प्रवद्र्धनका लागि लागिपरेको न्यौपाने बताउहुन्छ । डा मिश्रको विचार पनि न्यौपानेको जस्तै छ । नयाँ पुस्ता सार्वजनिक सवालमा अगाडि आउनुपर्ने उहाँ बताउनुहुन्छ । यसअघि मिश्रले नै बाँकेका पर्यटकीयस्थलको पहिचान गरी भारतमा प्रचारप्रसारका लागि जानुपर्ने योजना सुझाउनुभएको थियो ।

मिश्र भन्नुहुन्छ,“सीमा क्षेत्र नजिक भएकाले भारतीय पर्यटक हाम्रो प्रमुख आयस्रोत बन्न सक्छन् ।” होटल व्यवसायी सङ्, बाँकेका अध्यक्ष भीम कँडेल पर्यटन प्रवद्र्धनका लागि उहाँहरु तीनै जनाको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यसको उन्नति र प्रगतिका विषयमा नयाँ पुस्ता सक्रिय हुनु राम्रो कुरा हो । उहाँहरुमा नयाँ सोच, जोश र उत्साह छ ।”

स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थल भएपनि प्रचारप्रसारकोे अभावमा ओझेलमा पर्दै गएको उहाँहरुको भनाइ छ । बाँकेमा दर्जनौँ ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन्, त्यस्ता क्षेत्रको प्रचारप्रसारमा जुट्नुपर्ने उहाँहरुको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना तयार गरेर अघि बढ्नुपर्ने उहाँहरुको तर्क छ ।

युवाको प्रयासलाई प्रोत्साहन गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्यटन विकासको दीर्घकालीन रणनीति तयार गरेर अघि बढ्नुपर्ने न्यौपाने, चौधरी र मिश्रको सुझाव छ । पर्यटन प्रवद्र्धन मुलुकको समृद्धिको महत्वपूर्ण अङ्ग भएकाले युवालाई यससँग जोड्नका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने उहाँहरुको भनाइ छ । उहाँहरुले भन्नुभयो, “पर्यटन विकासमा युवाले गरिरहेका कामका आधारमा सरकारले आवश्यक सहयोग गर्नुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !