१२ बैशाख २०८१, बुधबार

घरबाससँग जोडिएको बागलुङको पर्यटन


विदेशी पर्यटक

तारानाथ आचार्य बलेवा, २५ पुस । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला बागलुङ नगरपालिकाले ‘नगर भ्रमण वर्ष’ घोषणा ग¥यो । सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेका अवस्थामा बनेको नगरको नीति तथा कार्यक्रममा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये केही विदेशी पर्यटक बागलुङमा भित्र्याउने लक्ष्य नगरपालिकाको छ । भ्रमण वर्षलाई सघाउ पुग्ने र बागलुङको विकासमा टेवा पुग्ने गरी नगर भ्रमण वर्षको घोषणा गरिएको हो ।

आन्तरिक पर्यटकलाई पनि जिल्लाका पर्यटकीय क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको कार्यक्रम कार्यान्वयनको चरणमा छ । त्यसका लागि नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, पूर्वाधार निर्माण र स्वागत सत्कारका काम गर्दै आएको छ । अन्तरराष्ट्रिय पर्यटन समूह ‘भेगन ग्रुप’लाई नगरपालिकाको आतिथ्यतामा भित्र्याएको नगरपालिकाले भ्रमण वर्ष र नगर भ्रमण वर्ष मनाउन रु तीन लाख बजेट विनियोजन गरेको छ । सो बजेट यहाँका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि छुट्याइएको र प्रदेश तथा केन्द्र सरकारसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमबाहेक पर्यटकको स्वागत सत्कारका लागि मात्रै विनियोजन भएको हो ।

“हामी प्रधानमन्त्री रोजगार कार्यक्रम नै यस वर्ष पर्यटन क्षेत्रको विकासमा लगाउने योजनामा छौँ”, नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, “बेरोजगारहरुलाई पदमार्ग निर्माणमा लगाउँछौंँ जसबाट रोजगारी पनि सिर्जना होस्, पूर्वाधार पनि बनून् ।” जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिका पर्यटकका लागि सबै हिसाबले सुगम क्षेत्र हो । जिल्लामै सबैभन्दा सुविधासम्पन्न होटल रेष्टुरेण्टदेखि यही नगरको एउटा टोलमा रहेको घरबास पनि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको छ । नगरको नजर र पर्यटकको नजर एकैसाथ लागेको नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार होमस्टे बागलुङ नगरलाई सघाउने गन्तव्य हो । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले नगरको योजनामा सघाइरहेका छन् । स्थानीय कोदो र मकैको परिकार, यहाँबाट देखिने हिमशृङ्खलादेखि यहाँको स्वागत सत्कार गर्ने तरिका पर्यटकले रुचाएका छन् । हरेक साता शनिबार सो सामुदायिक घरबासमा भीडभाड हुन्छ । अन्य समयमा औसतमा पर्यटक आउने गरेको घरबास सञ्चालक अम्सरा थापा बताउनुहुन्छ ।

जिल्लाभरि घुम्न मिल्ने ठाउँ प्रशस्तै छन् । त्यसमध्यकेही धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र निकै चर्चामा छन् । तिनै चर्चामा रहेका पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको सुविधाका लागि बागलुङका घरबास पनि निकै चलेका छन् । बागलुङ कालिका, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, गाजाको दह, ढोरपाटन शिकार आरक्ष, घुम्टेको लेक, गाईघाटको झरना, हाँडीकोटको धुरी, जैमिनीधाम, गल्कोट दरबारलगायत प्रचुर सम्भावना भएका क्षेत्र हुन् ।

जिल्लाकै पहिलो सामुदायिक घरबास ‘अतिथि सत्कार’पछिको चर्चामा रहेको घरबास बरेङ गाउँपालिकामा रहेको सिद्धि सामुदायिक होमस्टे हो । यो घरबास सञ्चालनमा आएको चार महिना मात्रै भयो । अहिलेसम्म यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सात सयभन्दा धेरै छन् । “सदरमुकामका सुविधासम्पन्न होटलहरुले हामीकहाँ आउने पर्यटकलाई सुविधा दिन्नन्”, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “हामीले पर्यटक भीत्राउने आधार होमस्टे नै हुन् ।” बरेङ गाउँपालिकाले नेपाल भ्रमण बर्षलाई सघाउने र बरेङमा पर्यटक भीत्राउने भन्दै चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोहीअनुसार प्रचारप्रसार र पूर्वाधार निर्माणको काम भैरहेको अध्यक्ष शर्मा बताउँछन् । बाईसे चौविसे राजाहरु बसेको कौडेको धुरीदेखि बहिरी देवि सत्यवतीको मन्दिर पर्यटक पुग्ने बरेङका गन्तव्य हुन् । कौडेको धुरी प्राकृतिक मनोरम दृष्य रुचाउनेहरुका लागि साविकको पश्चिमाञ्चलका १० जिल्ला देखिने भ्यू टावरका रुपमा चिनिन्छ । बागलुङ जिल्ला नेपालको एक मात्रै शिकार आरक्ष क्षेत्र ढोरपाटनको अधिकांश भूभाग रहेको क्षेत्र हो । हिउँदमा हिउँसँग रम्न सकिने शिकार आरक्ष क्षेत्रमा कात्तिक र चैतमा वर्षको दुई पटक शिकारको याम हुन्छ । विशेष गरेर साहसिक शिकारी पर्यटकका लागि यो क्षेत्र लोकप्रिय छ ।

बागलुङले झोलुङ्गे पुलको जिल्ला भनेर पनि पहिचान बनाएको छ । जिल्लाका खोलानाला र पहाड–पखेरा मात्रैको उचित सदुपयोग गर्ने हो भने पर्यटनका हिसाबले बागलुङ निकै महत्वपूर्ण र आकर्षक गन्तव्य हुन सक्छ । प्रशस्त पर्यटकीय क्षेत्र रहेको जिल्लाका धेरै ठाउँमा अहिलेसम्म पनि पर्यटक नपुगेकाले ‘भर्जिन’ गन्तव्यका रुपमा कैयौंँ ठाउँमा पर्यटक पु¥याउन सकिने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखाल बताउनुहुन्छ । बागलुङका घरबास सबै पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको बस्नेखाने उपयुक्त स्थान बन्दै गएका छन् ।

बागलुङका छ गाउँपालिका र चार नगरपालिकामा अथाह पर्यटकीय सम्भावना बोकेका ठाउँ छन् । जिल्लाका १० वटै पालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि यो वा त्यो ढङ्गबाट लगानी पनि गर्न थालेका छन् । हरेक पालिकाको नीति तथा कार्यक्रम र बजेटमा पर्यटकीय क्षेत्रको विकासका लागि सम्बोधन भएकै छ । बागलुङका सबै पालिकाले आफ्नो क्षेत्रभित्रका एकएक क्षेत्रको मात्रै प्रचारप्रसार गर्ने हो भने जिल्लालाई धार्मिक तथा प्राकृतिक सौन्दर्ययुक्त गन्तव्यका रुपमा विकास गरी पर्यटक भियाउन सकिने उद्योग वाणिज्य सङ्घ बागलुङका महासचिव नरेश कँडेल बताउनुहुन्छ ।

कला–संस्कृतिको धनी बागलुङमा पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास पनि तीव्र गतिमा भइरहेको छ । केन्द्र तथा प्रदेश सरकारले बृहत् कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गरेका छन् । नेपाल सरकारले भ्रमण वर्ष मनाउन शुरु गर्दै गर्दा बागलुङमा भौतिक संरचना निर्माण तथा पूर्वाधारको विकास भएका केही गन्तव्यलाई प्रयोगमा ल्याउन सकिन्छ । पर्यटकको रुचि, पर्यटकीयस्थलको भौगोलिक अवस्था र त्यहाँ निर्माण भएका संरचनाले भ्रमण वर्षको सफलता र बागलुङको आर्थिक विकासमा टेवा पु¥याउन भूमिका खेल्ने पर्यटन व्यवसायी बताउँछन् । त्यसमा पनि बागलुङ भित्रने पर्यटकको स्वागत सत्कारदेखि बास बस्ने बन्दोबस्तीका लागि घरबासको भूमिका महत्वपूर्ण हुन्छ ।

जिल्लामा दर्ता भएका २८ सामुदायिक घरबास छन् । उनीहरुको आआफ्नै खानाका परिकार र आआफ्नै स्वागत सत्कारका तरिका छन् । बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको घरबासमा कोदोको परिकार मुख्य मानिन्छ भने बरेङको घरबासले जंगलमा पाइने बाँकोको गुन्द्रकलाई प्रमुख परिकार भनेर दिने गरेको छ । जैमिनी नगरपालिकामा रहेको सिद्ध बहारा सामुदायिक घरबासमा मारुनी गाउँदै पर्यटकको स्वागत हुन्छ । काठेखोला गाउँपालिकाका घरबासमा सोरठी नाचको स्वाद पाइन्छ । “घरबास घर जस्तै होस्, स्थानीय खाना र पारिवारिक वातावरण मिलोस्”, अघिल्लो साता पर्वतबाट भकुण्डेको घरबासमा पुग्नुभएका पर्वतका शिक्षक सञ्जय रेग्मीले भन्नुभयो, “साँच्चै दिन बितेको थाहै भएन ।”

भकुण्डेस्थित ‘अतिथि सत्कार’ घरबासमा आन्तरिक पर्यटकसमेत नियमित आउने गर्छन् । जिल्लाको पहिलो घरबास भएकाले यहाँ फोन सम्पर्क गरेर आउने पर्यटक पनि धेरै छन् । दक्षिण कोरिया र जापानका पर्यटक यहाँ नियमित जस्तै आउने गरेका छन् । अध्ययनका क्रममा नेपाल आउने कोरियालीले यहाँको घरबासमा साता दिनसम्म पनि बिताउने गरेका छन् । अतिथि सत्कार घरबासमा दुई वर्षदेखि विदेशी पाहुना आउने क्रम बढेको छ । “आएका पाहुनालाई फूल अबिरले स्वागत गर्ने हाम्रो चलन हो”, घरबास सञ्चालन समितिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, ‘पाहुनालाई अर्गानिक खाना खुवाउने र फर्केर आउने बनाउन प्रयास गरेका छौंँ ।”

गण्डकी प्रदेशले तीन वर्षसम्म भ्रमण वर्ष मनाउने तयारी गरेको छ । यो तयारी सँगै यहाँका घरबास सुधारका लागि रु १० लाख अनुदानसमेत दिइएपछि घरबास सञ्चालकहरु हौसिएका छन् । पाँच वर्षभित्र २० लाख पर्यटक गण्डकी प्रदेशमै ल्याउने योजनामा घरबास पर्यटनले साथ दिने थापाले बताउनुभयो । यहाँका सञ्चालकहरुले जैविक खेती विस्तार, विद्युत् र पानीको व्यवस्थापन तथा सामुदायिक भवन निर्माणमा पनि सरकारी लगानी भित्र्याउन पहल गरेका छन् ।

ठाउँअनुसारका संस्कृतिमा आधारित गीत, सङ्गीत र नृत्य देखाउने, स्थानीय खाना खुवाइने भएकाले बिदाको दिन सदरमुकामका कर्मचारीसमेत यहाँका घरबासमा पुग्ने गरेका छन् । यसरी आन्तरिक पर्यटक भित्र्याउने तथा प्रबद्र्धन गर्ने पालिकाको लक्ष्यमा घरबासले साथ दिएको छ । खाना पकाउने, सरसफाइ र पाहुना स्वागतका लागि उनीहरुले तालीम पनि लिएका छन् ।

“पछिल्लो समय घरबास व्यवस्थित बन्दै गएका छन्, हामीलाई गाउँमा स्वास्थ्य शिविर चलाउनसमेत सजिलो भएको छ ”, स्वास्थ्य कार्यालय बागलुङका क्षय÷कुष्ठरोग सुपरभाइजर देवप्रकाश घिमिरेले भन्नुभयो, “बिदाको समयमा घरायसी वातावरणमा रम्ने ठाउँ हुन् होमस्टे । ” गाउँघरमा ठूलो सङ्ख्यामा मानिस जम्मा पारेर गरिने कार्यक्रममा बास बसाल्ने समस्या झेल्दै आउनुभएका घिमिरेले घरबासले ठूलो सङ्ख्यामा आयोजना हुने बैठक, गोष्ठी र तालीम गाउँमा चलाउन सहज हुने गरेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !