८ बैशाख २०८१, शनिबार

पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो, पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीन


२१ कात्तिक, काठमाडौं । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ । सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन् ।

दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए ।सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए । ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन् ।

उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन् । तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन् ।

पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे। यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !