६ बैशाख २०८१, बिहिबार

भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक


योगेश भट्टराई

अत्तरिया, २८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा÷एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराउनुभयो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

उहाँले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । यसैबीच टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उहाँले उद्घाटन गर्नुहुने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !