१२ बैशाख २०८१, बुधबार

देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान गरिंदै


वाइड बडी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आज बिहिबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ ।

कम्तिमा ६ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार नै भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक रहेका छन् । भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहिबार गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्ने भएकाे छ ।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको जनाएको छ ।

परीक्षण उडानसमेत सफल भएको प्रतिवेदन आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ । काठमाडौं, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !