३० करोड लगानीमा मनकामना केबलकारको स्तरोन्नति हुँदै Nepalpatra ३० करोड लगानीमा मनकामना केबलकारको स्तरोन्नति हुँदै
१८ मंसिर २०७८, शनिबार

३० करोड लगानीमा मनकामना केबलकारको स्तरोन्नति हुँदै


मनकामना केबलकार

काठमाडौं । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले २४ वर्षको अवधिमा हालसम्म १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा केवलकारको प्रविधिको स्तरोन्नति पनि गर्ने बताएको छ । अहिले एनालग सिष्टममा आधारित यसलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । हाल रहेको एनालग सिस्टमलाई तीन चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिने जानकारी कम्पनीले दिएको छ ।

मनकामना दर्शन प्रालिले ३० करोड लगानी गरेर स्तरोन्नति गर्ने भएको छ । २४ औँ वर्ष पुगेको अवसरमा कम्पनीले सेवा आधुनिकीकरणका लागि ३० करोड लगानी गर्ने घोषणा गरेको हो ।

प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम् प्रविधिको विकास भएकाले स्तरोन्नति गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । कतिपय पाटपुर्जा पुराना हुँदै गएको र मर्मत खर्च पनि बढेकाले नयाँ प्रविधि जडान गर्न लागिएको कम्पनीले बताएको छ ।

अहिलेको एनालग प्रणालीलाई डिजिटल बनाउनका लागि तीन चरणमा काम हुने छ । यात्रुलाई असर नपर्नेगरी काम गर्दा चरबद्ध गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ। २०८० को भदौसम्म काम सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

अहिलेको डीसी ड्राइभ सिस्टमलाई एसी ड्राइभमा र कन्ट्रोल सिस्टमलाई एनालग बाट डिजिटलमा परिणत गरिने छ । अरु संरचना भने पुरानै हुनेछन् । डीकनेक्ट माध्यमबाट सञ्चालन हुने मनकामना केबलकार नेपालकै पहिलो हुने कम्पनीकी दाबी छ ।

उक्त कम्पनीले मनकामना क्षेत्रमा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो । रिसोर्ट बनाउनका लागि करिब ३५ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान कम्पनीको छ ।

केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीको दावी रहेको छ ।

यो पनि पढ्नुहोस्

३५ करोड लगानीमा मनकामनामा सुविधासम्पन्न रिसोर्ट खुल्दै

नेपालकै पहिलो मनकामना केबलकार २४ वर्षमा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !