१२ बैशाख २०८१, बुधबार

देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे


बाह्रसिंगे

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुला खोरमा देखिन छाडेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुला खोरमा नभेटिएको हो । उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडीमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्नेबारे यकिन हुन नसकेको उहाँको भनाइ छ ।

विसं २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये पाँच पोथी र दुई भाले थिए । तीमध्ये दुई पोथी ल्याउनेबित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसकेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।

तत्कालीनावस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा पाँच भालेसहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याएलगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।

सरकारले प्रजाति संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !