स्रोतसाधनको अभावमा पर्यटकको रोजाइ बन्न सकेन पर्सा राष्ट्रिय निकुञ्ज Nepalpatra स्रोतसाधनको अभावमा पर्यटकको रोजाइ बन्न सकेन पर्सा राष्ट्रिय निकुञ्ज
३१ बैशाख २०७८, शुक्रबार

स्रोतसाधनको अभावमा पर्यटकको रोजाइ बन्न सकेन पर्सा राष्ट्रिय निकुञ्ज


पर्सा राष्ट्रिय निकुञ्ज

वाग्मती । उचित स्रोतसाधनको अभाव हुँदा पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटको खासै रोजाइको क्षेत्र बन्न सकेको छैन ।

निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार सडक सञ्जाल नहुनु, जङ्गल सफारी गर्न आवश्यक सवारीसाधनको व्यस्थापन नहुनुका साथै पर्यटकको आवासका लागि नजिकै सुविधा सम्पन्न होटल व्यवसाय नहुँदा यो निकुञ्ज पर्यटकका लागि प्राथमिकताका साथ रोजाइको क्षेत्र बन्न नसकेको हो । निकुञ्ज व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को चैतको हालसम्ममा चार विदेशी, सार्कराष्ट्रअन्तर्गतका एक पर्यटक र ११६ नेपालीले निकुञ्जको अवलोकन गरेका थिए । चालू आवको साउनदेखि पुस महीनासम्म आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेनन् ।

यसैगरी कार्यालयका योजना फाँट प्रमुख एवं रेञ्जर हिमाल पाठकका अनुसार गत आर्थिक वर्षमा सात विदेशीसहित ३७८ नेपालीले निकुञ्जको अवलोकन गरेको तथ्याङ्क रहेको छ ।

निकुञ्जअन्तर्गत अधिकांश वन्यजन्तु चुरे क्षेत्रमा देख्न पाइन्छ । यद्यपि सो क्षेत्र पुग्न सडक सञ्जालको व्यस्थापन हुन नसक्दा पर्यटकले अपेक्षाअनुसार वन्यजन्तु हेर्न पाउनसक्ने अवस्था नरहेको निकुञ्ज व्यवस्थापन कार्यालयका प्रमुख एवं प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाह बताउनुहुन्छ । नेपालका कूल १२ राष्ट्रिय निकुञ्जमध्येको यो एक हो । पर्सा राष्ट्रिय निकुञ्जको अवस्थिति नेपालको सङ्घीय संरचनाअनुसार प्रदेश नं २ को केही भाग र वाग्मती प्रदेशकाको केही भाग पर्दछ ।

यसको पश्चिम सिमाना चितवन राष्ट्रिय निकुञ्ज पर्दछ भने पश्चिम दक्षिणको केही भाग भारतको वाल्मिकी टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भूपरिधिलाई जोडेको छ । यो निकुञ्जले तराई, भावर र चुरे क्षेत्रमा पाइने विविध भौगोलिक प्रणालीको प्रतिनिधित्व गर्दै पर्सा, मकवानपुर र बाराका केही भाग समेट्छ । मध्यवर्ती क्षेत्रको २८५.३० वर्ग किमी क्षेत्रफलसहित पर्सा राष्ट्रिय निकुञ्जको कूल क्षेत्रफल ६२७.३९ वर्ग किमी छ ।

सरकारको २०७४ वैशाख २५ को मन्त्रिपरिषद् निर्णय र २०७४ असार १९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार तत्कालीन पर्सा वन्यजन्तु आरक्षलाई पर्सा राष्ट्रिय निकुञ्जका रुपमा परिणत गरिएको थियो । निकुञ्ज विस्तारित क्षेत्र प्रसिद्ध कोशेझाडी र रहलखोरिया दहसहित रहेको छ ।

यहाँ पाइने प्रमुख जनावर जङ्गली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् । यद्यपि धेरैजसो समयमा यस निकुञ्ज क्षेत्रभित्र बाघ, गौरीगाई, चितुवालगायतका जङ्गली जनावर सधैँजसो देख्न पाइन्छ ।

निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सरकारी र निजी क्षेत्र सँगैसँगै हातोमालो गरी अघि बढ्नुपर्ने निकुञ्ज व्यवस्थापन कार्यालयको निष्कर्ष छ । निकुञ्जले आन्तरिक व्यवस्थापन र निजी क्षेत्रले आवश्यकताअनुसार सवारीसाधनसहित सुविधा सम्पन्न होटल सञ्चालन गर्नसके वन्यजन्तु अवलोकन गर्न यो निकुञ्ज उत्कृष्ट गन्तव्य हुने विश्वास लिइएको कार्यालय प्रमुख एवं संरक्षण अधिकृत शाह बताउनुहुन्छ । निकुञ्ज व्यवस्थापन कार्यालयले जैविक विधिताको संरक्षण र व्यवस्थापनका लागि विविध कार्य गर्दै आइरहेको छ । जसअनुसार वन्यजन्तुलाई आवश्यक पर्ने घासेमैदान, खानेपानी व्यस्थापन, मचान निर्माण, सडक सञ्जाल निर्माणलगायत तथा मर्मतसम्भारका कामलाई निरन्तता दिइएको कार्यालयले जनाएको छ ।

वन्यजन्तुको उचित व्यवस्थापनका लागि बासस्थान व्यवस्थापन, घाँसेमैदान निर्माण तथा व्यवस्थापन, पानी पोखरी निर्माण तथा मर्मत, सिमसार क्षेत्र व्यवस्थापन तथा पुनस्थापना, डिपबोरिङ निर्माण, वनपथ निर्माण तथा मर्मत सुधारलगायतका विविध काम भएको निकुञ्जको व्यस्थापन कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण तथा मर्मत सुधारतर्फसमेत पनि काम भएका छन् । यसअन्तर्गत अधुरो कार्यालय भवन तथा अन्य भौतिक संरचना निर्माण तथा मर्मत सुधार, पर्यटक विश्राम स्थान, काठेपुल तथा कल्भर्ट निर्माण तथा मर्मत सुधार, मचान निर्माण तथा सम्भार, सेडघर निर्माण तथा मर्मतसम्भार र हात्ती बाथ टप निर्माणका काम भएका छन् ।

यहाँका पाइने प्रमुख जङ्गली जनावरमा हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् । निकुञ्ज क्षेत्रमा सन् २०१५ को अनुगमनबाट बाघको १०, सन् २०१६ को अनुगमनबाट बाघको १९ र सन् २०१७ को अनुगमनबाट दुई वटा डमरुसमेत १९ वटा बाघको फोटो खिचिएको थियो । सन् २०१५ को गैँडा गणनाअनुसार यस निकुञ्जमा तीनदेखि पाँच वटा गँैडा रहेको तथा सन् २०१६ को गौरीगाई गणनाअनुसार १०५ गौरी गाई रहेको अनुमान गरिएको छ ।

केही दशक अगाडिसम्म यो क्षेत्रलाई प्रख्यात चारकोशे झाडी क्षेत्र भनिन्थ्यो र यसलाई प्रमुख शिकारस्थलका रूपमा लिइन्थ्यो । वर्तमान अवस्थामा वन पैदावार (ढुङ्गा, गिट्टी, बालुवा) को बढ्दो माग र क्रसर उद्योगको विस्तारले गर्दा निकुञ्जको जैविक विविधता संरक्षणमा समस्या सिर्जना भएको निकुञ्ज व्यवस्थापन कार्यालयका प्रमुख संरक्षण अधिकृत शाह बताउनुहुन्छ ।

निकुञ्ज आसपास क्षेत्रका नदीनाला सुख्खा देखिन्छन् भने पानी सतह मुनिबाट बग्दछ । चुरेको उच्च भागमा सल्लाका रूख पाइए तापनि ९० प्रतिशत भूमि सालको जङ्गलले ढाकेको छ र राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूख पाइन्छन् ।

यहाँ चुरे पहाडको माथिल्लो भागमा सल्लो र होंचो भागमा खयर, सिसौ, सालका जङ्गल छन् । चुरे पहाडको दक्षिणपट्टिको भेकमा घाँसे मैदान छ । यहाँ करीब ३०० प्रजातिका चरा पाइन्छन् । तीमध्ये मयुँर, धनेश, मैना आदि पर्दछन् । विभिन्न घस्रने जनावर जस्तै कोब्रा, करेत, अजिङ्गर आदि पनि पाइन्छन् ।

प्रदेश नं २ अन्तर्गतका बारा र पर्सा साथै वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर, जिल्लाका केही भाग समेटेर पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ । ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ । भावर प्रदेश भएको कारण भौगोलिक बनावट छुट्टै प्रकारको छ । यसको हावापानी उष्ण प्रदेशीय प्रकारको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर विसं २०४० मा स्थापना भएको उक्त आरक्षलाई वन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निकुञ्ज घोषणा गरेको थियो । पर्सा निकुञ्ज विगत ३४ वर्षदेखि प्रजाति संरक्षणबाहेक पर्यटन प्रवद्र्धनमा खासै फट्को मार्न सकेको छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !