आकर्षक गन्तव्य बन्दै ‘विष्णुधाम’ Nepalpatra आकर्षक गन्तव्य बन्दै ‘विष्णुधाम’
१८ फाल्गुन २०७७, मंगलबार

आकर्षक गन्तव्य बन्दै ‘विष्णुधाम’


विष्णुधाम

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित चुरे पहाडको फेदीमै रहेको विष्णुधाम (साकेतधाम) पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट पाँच किलोमिटर उत्तरतर्फको दूरीमा रहेको विष्णुधाम क्षेत्र एकान्तमा रम्नेका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

कञ्चनपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सूचीमा यो गन्तव्य पहिलो रोजाइमा पर्ने गरेको छ । विष्णुधाम क्षेत्रका मुख्य आकर्षणका रूपमा परम्परागत शैलीमा निर्माण गरिएको मन्दिर, वरिपरि रहेका त्रिवेणी ताल र तालको बीच भागमा कमलको फूलमाथि बसेका भगवान् ब्रम्हाको मूर्ति रहेको छ ।

विष्णुधाम वरिपरिको वनसहितको प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । वन क्षेत्रले घेरिएको विष्णुधाम क्षेत्रमा जङ्गली जनावर र विभिन्न प्रजातिका पक्षीको अवलोकनसमेत सहजै गर्न सकिन्छ । यस क्षेत्रमा पुग्नेहरु मन्दिर वरिपरिको शान्त र रमणीय दृश्यका कारण मन्त्रमुग्ध हुने गरेका छन् ।

पुरातत्वविद् योगी नरहरि नाथले विसं २०५६ मा कोटीहोम यज्ञको आयोजना गरी यस क्षेत्रको प्रचारप्रसारमा योगदान पु¥याउनुभएको थियो । कोटी होमयज्ञको आयोजनासँगै यस क्षेत्रले नेपालमा मात्रै नभएर भारतमा समेत चर्चा बटुलेपछि यहाँ भारतीय धार्मिकजन र पर्यटकको आवागमन बढ्न थालेको बताइएको छ ।

पूर्व राष्ट्रपति डा रामवरण यादव, नेपाल सरकारका मन्त्री र अन्य विशिष्ट व्यक्तित्वले यस क्षेत्रको भ्रमण गर्नुभएको थियो । आकर्षक यो क्षेत्र आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्यमा पछाडि परेको स्थानीयवासीको भनाइ छ । विष्णु मन्दिर परिसरमा हाल सिद्धिविनायक गणेश, नर्मदेश्वर शिवलिङ्ग, भगवान् विष्णुको शेषमाथि पद्यमनाथ मूर्ति, हनुमानको मूर्ति र पूर्णागिरिको मूर्ति प्रतिस्थापन गरिएको छ । त्यसैले यस क्षेत्रको नाम सिद्धनाथ स्थानबाट परिवर्तन गरी साकेतधाम सिद्धाश्रम विष्णुधाम नामाकरण गरिएको स्थानीय शिक्षक रामबहादुर विष्ट बताउनुहुन्छ ।

परापूर्वकालमा हिउँदका बेला पहाडबाट तराई गाईवस्तु चराउन झर्ने गोठालाले गाईवस्तु रक्षाका लागि सिद्धिविनायकको मूर्ति स्थापना गरी पूजाआजा गर्दै आएका थिए । “विसं २०४८ तिर गाईवस्तु चराउन गएकी एक बालिकाले तुम्बिकाखोलामा विष्णुको अद्वितीय मूर्ति फेला पारेपछि विधिवतरूपमा यस क्षेत्रमा भजनकीर्तनका साथै पूजाआजा हुन थालेको हो”, वडा सदस्य कर्णबहादुर बोहराले भन्नुभयो, “स्थानीय र बाबा रामदास स्वामीले भगवान्को रातभर जाग्रम बसी भजनकीर्तन गरी सिद्धिविनायकको डाँडामा विष्णुको मूर्ति विधिवतरूपमा स्थापना गरेपछि यो क्षेत्र धार्मिक क्षेत्रका रूपमा विकसित हुन पुगेको हो ।”

त्यसै बेलादेखि प्रत्येक शुक्रबारको दिन मन्दिरमा अखण्ड रामायण पाठ र यज्ञ लाग्ने गरेको छ । नवरात्र र रामनवमीका दिन विशेष पूजापाठसँगै मेला लाग्ने गर्दछ । मेलामा भारत र नेपालका ठूलो सङ्ख्याका श्रद्धालु भक्तजन आउने गर्दछन् । स्थानीय बासिन्दाले यो क्षेत्रमा रहेको मन्दिरमा विवाह, व्रतबन्धलगायत धार्मिक संस्कारका कार्य गर्दै आएका छन् ।

यज्ञशाला, हनुमान मन्दिर, धर्मशाला, विष्णु मन्दिर, सिद्धनाथ, सिद्धिनिवनायक मन्दिर र मन्दिर पसिरको उत्तरतर्फ रहेको तालको बीचमा पञ्चमुखे ब्रम्हाको मूर्तिलगायत संरचना दाताहरूको सहयोगमा निर्माण गरिएको साधु रामदास बताउनुहुन्छ । “दाताहरूको रु १० करोडभन्दा बढीको लागतमा यी संरचना निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “माटो र काठले मन्दिर निर्माण गरिएको थियो, स्वदेशी र विदेशी दाताको सहयोगमा अहिले सिङ्गमर्मरका पत्थर राखेर मन्दिरलाई सिङ्गारेका छौँ ।”

नेपाली सेनाले समेत मन्दिरका भौतिक संरचना निर्माणका लागि श्रमदानसमेत गरेको जनाइएको छ । पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि १५० स्थानीयवासीको सहयोगमा अक्षयकोषसमेत खडा गरिएको छ । विसं २०४९ मा वन कार्यालयको सहयोगमा स्थानीय समाजसेवी राम जोशी, आनन्दबल्लभ जोशी र हर्क विष्टलगायतको पहलमा धामको वरिपरि रहेको सात हेक्टर क्षेत्रमा वृक्षरोपण गरिएको थियो । हाल त्यो क्षेत्रको १० दशमलव छ हेक्टर क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरिएको छ । धामको व्यवस्थापनका लागि समितिसमेत गठन गरिएको छ । समितिले धाम क्षेत्रमा लाग्ने मेला र अन्य कार्यको व्यवस्थानको कार्य गर्दै आएको छ ।

“ब्रम्हदेव हुँदै विष्णु मन्दिर, रौटेला र झिलमिलालाई जोड्ने सडकको निर्माण गर्न सकिए पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिन्छ”, विष्णुधामको विकासमा लाग्नुभएका बाबा रामदास स्वामीले भन्नुभयो, “तेस्रो मुलुकका पर्यटकलाई उल्लेख्यरूपमा भित्र्याउन नसके पनि भारतीय पर्यटकलाई तान्न सकिन्छ ।” यो क्षेत्रसम्म पुग्नका लागि भीमदत्त नगरपालिकाको पहलमा कालोपत्र सडक निर्माणाधीन छ ।

“मन्दिर क्षेत्रलाई जोड्ने गरी जैविक धार्मिक मार्गसमेत बनाउने कार्यमा लागेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “जैविकमार्गलाई ब्रम्ह्देवमा रहेको सिद्धनाथ मन्दिर, भम्केनी धाम, झिलमिला, विष्णुधाम, रौटेलालगायतका धार्मिक क्षेत्र सडकमार्गसँग जोड्ने काम भइरहेको छ ।” १८ मिटर चौडा यो सडकमार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीयस्थल एकापसमा जोड्ने प्रयास थालिएको छ । निर्माणको कार्य पूरा भएपछि यी महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म आवागमनका लागि सहज हुने देखिएको छ ।

नगरपालिका कार्यालयको पहलमा धार्मिकजनलाई ध्यान तथा योग गर्नका लागि रु २० लाखको लागतमा भवन निर्माणको कामसमेत अगाडि बढाएको छ । “धाम क्षेत्रको सम्पूर्ण विकासका लागि गुरुयोजना बनाउने कार्यमा समेत लागेका छौँ”, नगरप्रमुख विष्टले भन्नुभयो, “गुरुयोजनाअन्तर्गत धाम क्षेत्रमा परिक्रमापथसँगै अन्य भौतिक पूर्वाधार विकासका कार्य हुनेछन् ।”

धामसँगै जोडिएको बाह्रकुण्डबाट विष्णुधामसम्म पदमार्ग निर्माण भइरहेको छ । बाह्रकुण्ड क्षेत्र प्राचीन ऋषिमुनिको तपोभूमिका रूपमा परिचित छ । बाह्रकुण्ड क्षेत्रमा रहेका १२ ताल संरक्षण अभावमा पुरिँदै गएकामा नगरपालिका र राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको संयुक्त पहलमा तालको संरक्षण संवद्र्धन गरिएको छ । संरक्षणसँगै यी ताल पुरानै अवस्थामा फर्किएका छन् । नगरप्रमुख विष्टले बाह्रकुण्डलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !