७ बैशाख २०८१, शुक्रबार

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल


बन्दीपुर

दमौली । कोभिड-१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड-१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिनुभयो । “कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो, परिस्थिति सहज हुँदै जान थालेपछि बन्दीपुरमा आन्तरिक पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो ।

चिसो मौसम बन्दीपुरमा पर्यटकको भीड हुने समय हो । कोभिडका कारण विगत वर्षजस्तो चहलपहल भने बन्दीपुरमा छैन । “अहिलेको बेला भनेको बन्दीपुरमा अत्यधिक विदेशी तथा स्वदेशी पर्यटकको भीड हुने समय हो, विगतका वर्षमा यतिबेला बन्दीपुरमा थामिनसक्नु भीड हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले कोभिडले परिस्थिति बदलिएको छ ।”

पछिल्लो समय निकै चर्चामा रहेको व्यास नगरपालिका-५ मानहुँकोटका कारण पनि बन्दीपुरमा पर्यटक बढेका छन् । बन्दीपुर आउने अधिकांश पर्यटक मानहुँकोट जाने र मानहुँकोट आएका पर्यटक बन्दीपुर आउने गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छुट प्याकेजसमेत सार्वजनिक गरेका छन् । चाडपर्वलाई लक्षित गरी सबै होटेल तथा रेष्टुरेन्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटेल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटेलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित व्यवसायी पर्यटक स्वागतमा जुटेको जानकारी दिनुभयो । राति बास बस्ने पर्यटकको सङ्ख्या कम रहे पनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रहेको छ । उहाँका अनुसार हाल दैनिक एक हजार पर्यटक बन्दीपुर भित्रिएका छन् । “शुक्रबार र शनिबार त्यो सङ्ख्या चार–पाँच हजारसम्म पुग्छन्”, उहाँले भन्नुभयो ।

बन्दीपुरमा होटेल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटेल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !