१० कार्तिक २०७७, सोमबार

सौराहामा चल्न थाले पर्यटक बस



भरतपुर, ७ असोज । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।

सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताउनुभयो ।

“बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उहाँले भन्नुभयो । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौँ जाने र एउटा काठमाडाँैबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भन्नुभयो“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उहाँले बताउनुभयो ।

सौराहाबाट चितवन सफारीले पनि काठमाडौँका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताउनुभयो । उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताउनुभयो ।

चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिनुभयो । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा, ५ कात्तिक । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न

बलेवा, ४ कार्तिक । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको

कास्की, ३ कात्तिक । रामसार सूचीमा सूचीकृत पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको संरक्षणका लागि संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी गरिएको

पोखरा, २ कात्तिक । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित