१२ बैशाख २०८१, बुधबार

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद्

काठमाडौं, साउन ५ । नेपाल सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उक्त निर्णय गरेको हो ।

आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतपछि आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पेश गरेको थियो । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको जनाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो । नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो ।

अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । चलिरहेको लकडाउन साउन ७ गते सकिँदैछ । सिनेमा घर, लामो दुरीका सवारी साधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका र अन्य जिल्लाको हकमा जिल्ला भित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !