१२ बैशाख २०८१, बुधबार

तालपोखरामा पर्यटकीय पूर्वाधार निर्माण


viruwa

म्याग्दी, १७ असार । पर्यटकीय क्षेत्र तालपोखरामा संरचना निर्माणसँगै वृक्षरोपण गरिएको छ । नेपालको एक सय पर्यटकीय गन्तव्य रामपुर नगरपालिकामा रहेको तालपोखरामा बन्दाबन्दीमा पोखरी क्षेत्रको पुनःनिर्माणसहित वृक्षरोपण गरिएको छ ।

डिभिजन वन कार्यालय पाल्पाको सौन्दर्य अभिवृद्धि कार्यक्रमअन्तर्गत नगरपालिकाको समन्वयमा तालपोखरामा सडकका दुवैतर्फ करीब १७५ बिरुवा रोपेर संरक्षणका लागि फलामेबार लगाउने कार्य भइरहेको तालपोखरा संरक्षण समितिले जनाएको छ । सडकका दुवैतर्फ चारचार मिटरको दूरीमा अशोक तथा कपुरका बिरुवा रोपिएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो ।

वन कार्यालय रामपुरका सहायक वन अधिकृत मरिचमान लामाले रु पाँच लाखको लागतमा टिगार्ड तथा बिरुवा सहयोग गरिएको बताउनुभयो । चारैतिर बत्ती, शिवालय उद्यान र ताल सुकाएर वरपर पर्खाल लगाउने कार्य शुरु गर्ने योजना रहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीमा करीब रु २७ लाख ८० हजार सात सयको लागतमा ताल वरपर करीब पाँच सय मिटर टायल टाँस्ने, उद्यान, वरपर फुटपाथ, चौतारी तथा फूलबारी निर्माणको काम भएको छ ।

विसं २०६६ पुस ११ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरी महायज्ञबाट रु एक करोड ७२ लाख बराबरको नगद, खाद्य पदार्थ, तुलादान, जग्गादानलगायत दान सङ्कलन गरेर तालपोखराको अवधारणा बनाइएको थियो । विभिन्न व्यक्ति, सङ्घसंस्था तथा स्थानयि सरकार र नगरपालिकाबाट सहयोग सङ्कलन गरी तालका बीचमा जलेश्वर महादेवको मन्दिर, उद्यान, वनभोजस्थल निर्माणलगायत तालको वरपर तारबार गरिएको छ ।

झण्डै तीन सय वर्ष पुरानो इतिहास रहेको तालपोखरा क्षेत्रको ४४ रोपनी क्षेत्रफलमा ताल रहेको छ । तालमा डुङ्गाबाट मन्दिर जानेआउने व्यवस्था छ । तालपोखरामा यसअघि दैनिक सयौँ आन्तरिक पर्यटक आउने, मनोरञ्जन लिने, सेल्फी स्टेशनमा फोटो खिँचाउने, ताल वरपर घुम्ने, उद्यानमा बसेर समय बिताउने गरे पनि बन्दाबन्दी अवस्थामा भने शून्य छ ।

पाल्पासँगै तनहुँ, नवलपरासी, स्याङ्जा,लगायत जिल्लका पर्यटक यहाा आउने गरेका छन् । कोरोनाको सङ्क्रमणका कारण यतिबेला तालपोखरा आउनेक्रम ठप्प छ । तालपोखरा क्षेत्रको पर्यटन विकासका लागि पर्यटन विभाग, रामपुर नगरपालिका तथा विभिन्न संघसंस्थालगायतको सहयोगमा करीब रु तीन करोडको लागतमा काम भइरहेको समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !