८ बैशाख २०८१, शनिबार

बिहान उठ्ने बित्तिकै मोबाइल चलाउँदाको बेफाइदाहरु


अध्ययनहरुले बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् । पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ । विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन । त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्‍याउँछ ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ। बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ। जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ । बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं। हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं । जसले गर्दा तपाईंको दिनको सुरुवात राम्रो हुँदैन ।–एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !